Comments Add Comment

अदालत र आयोगलाई प्रचण्डको खबरदारी : छिटो गरिदेऊ, खुट्टा नकमाऊ

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन् ।

संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने भन्दै उनले खुट्टा नकमाउन सचेत गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि आयोगले गतिलो लक्षण नदेखाएको भन्दै उनले ३० दिने हदम्याद काइते तर्क मात्र भएको बताए ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड निर्वाचन आयोगका कोही कोही मान्छे.. बढी नभनौ, भन्यो भने फेरि बिग्रिने हो कि भन्दै रोकिएका थिए ।

तर सहभागीहरुको हुटिङपछि उत्साहित भएका उनले ‘७० प्रतिशत हामीसँग छ’ भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताए । प्रचण्डले भने,‘त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने वित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईको खुट्टी देख्छ नेपालले ।’

उनले चेतावनी दिँदै भने, ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने प्रचण्डको चेतावनी छ ।

आफूले बोल्दा अदालतको अवहेलना भएको पनि भन्ने गरेको भन्दै प्रचण्डले भने, ‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर । निर्वाचन आयोग खुट्टा नकामाऊ, काइते कुराको पछि नलाग ।’

संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन भन्ने चाहेको उनले बताए । प्रचण्डले प्रधानमन्त्री ओलीलाई पनि अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहरदबार घेर्न आउन नपरोस् भनेर चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment