Comments Add Comment

विदेशमा खेल्न एजेन्टको खोजीमा साम्बा

२९ माघ, काठमाडौं । अहिले चलिरहेको राष्ट्रिय महिला लिग फुटबलमा सावित्रा भण्डारी (साम्बा)ले गोलको वर्षा गरिरहेकी छिन् । ८ खेलमै ३८ गोल उनको चर्चाको अर्को कारण समेत बनेको छ ।

जारी लिगमा उनी सर्वाधिक गोलकर्तामा अगाडि त छिन् नै दोस्रो स्थानमा रहेकी आर्मीकी शर्मिला थापाभन्दा २२ गोलले समेत अघि छिन् । उनी एक-दुई गोल होइन डबल ह्याट्रिक गर्छिन् । एक खेलमा उनले १२ गोल नै गरिन् ।

नेपाली राष्ट्रिय टिमको लागि समेत सर्वाधिक गोलकर्ता रहेकी उनले अन्तर्राष्ट्रिय खेलमा ३८ गोल गरिसकेकी छिन् । लिग र घरेलु फुटबलमा सावित्राले कति गोल गरिन् त्यसको लेखाजोखा नै छैन ।

भारतमा गएर इन्डियन वुमन्स लिग खेल्दै दुई पटक उपाधि जितिसकेकी सावित्रा अब आफ्नो यात्रालाई तन्काउन चाहन्छिन् । युरोपमा खेल्न चाहन्छिन् । उनको अबको सपना हो त्यो । त्यसका लागि कसैको सहयोगको खोजीमा छिन् उनी ।

भारतमा खेलिसकेकी उनी अन्य देश युरोपमा लिग खेल्न चाहन्छिन् । तर उनको आफ्नै एजेन्ट छैन । एन्फाले दनै वातावरण बनाए हुने उनको विचार छ । ‘अब म एक्लैले गरेर हुने होइन । एन्फाकै थ्रु केही सहयोग भएमा मलाई सजिलो हुन्थ्यो,’ सावित्राले बुधबार चन्द्रपुरविरुद्ध ६ गोल गर्दै वुमन्स अफ दि म्याच घोषित भएपछि भनिन्, ‘एजेन्ट छैन । एजेन्ट भइदियो भने मैले विदेशमा गएर खेलेर पक्कै पनि केही छाप छाडेर आउँछु भन्ने छ ।’

नेपाली महिला फुटबलमा वर्तमान समयमा सबैभन्दा चर्चित खेलाडी र गोल गर्ने खुबी भएको स्ट्राइकर हुन् सावित्रा । मैदानमा छिटो छरितो खेल्ने शैली अनि गोल गर्न माहिर उनको विशेषता हो । ‘गोल मेसिन’ उनको अर्को उपनाम हो ।

सावित्राले खेल्दा गोल सहजै निस्केको जस्तो लाग्छ । विपक्षीका लागि उनी सधैँ खतराको रुपमा हुन्छिन् । बाहिरबाट हेर्दा उनले गोल गर्नु सामान्य लाग्छ । तर उनलाई भने के लाग्छ त ? ‘एज ए स्ट्राइकर गोल हान्ने प्रेसर नै हुन्छ । त्यसले टिमले पनि हरेक म्याचमा मैले नै गोल हान्छु भनेर आशा गरिराको हुन्छ । टिममेटले पनि सहयोग गरिरहेको छ त्यसैले सजिलो भएको छ,’ सावित्राले भनिन्, ‘यति नै गोल हान्छु भनेर चाहिँ खेलेको हुँदैन । तर मैदान प्रवेश गर्दा नै गोल हान्छु भनेर नै प्रे गरेको हुन्छु ।’

गोल धेरै भइरहेको छ । साम्बाले पनि धेरै गरिरहेको छ के गोल हान्न सजिलो भाको हो भन्ने प्रश्नमा साम्बाले भनिन्, ‘पहिला थियो अहिले छैन । पहिला पनि आर्मी र पुलिसविरुद्ध गोल हानिरहेको हुन्छ । अहिले पनि म जिल्लाको टिमलाई मात्रै गोल हानेर हिरो भएको त पक्कै छैन ।’ उनी भन्छिन्, ‘महिला लिगमा विस्तारै परिवर्तन आएरहेको छ । मलाई धेरै चुनौतीहरु आइरहेको छ । विदेशी खेलाडी आउन थालेका छन् । हाम्रै पनि नयाँ खेलाडी आइरहेका छन् ।’

सावित्राले नगरपालिकाको टिमविरुद्ध खेल्दा धेरै गोल गरिरहेकी छिन् । वालिङविरुद्धको खेलमा २ गोल गर्नुबाहेक अन्य खेलामा हृयाटि्रकभन्दा बढी गोल छ ।

उनले चौदण्डीविरुद्ध पहिलो चरणमा १२ र दोस्रो चरणमा ८ गरी कूल २० गोल गरिन् । पुलिसविरुद्ध ३-० को जितमा ह्याटि्रक गरेकी सावित्राले आर्मीविरुद्ध मात्र गोल गर्न सकिनन् । आर्मीविरुद्ध २-० को जितमा भने उनले दुवै गोलका लागि असिस्ट गरेकी थिइन् ।

सावित्राले आफूले गोल नगर्दा अन्य खेलाडीको लागि पनि गोलको अवसर बनाइरहेकी हुन्छिन् । ८ खेलमध्ये ७ खेलमा गोल गरेकी सावित्राले ५ खेलमा ह्याटि्रक वा त्योभन्दा माथि गोल गरेकी छिन् । एक खेलमा २ गोल गरेकी छिन् । आर्मीविरुद्ध भने मार्किङ हुँदा गोल गर्न सकिनन् ।

उनले पछिल्लो समय महिला फुटबलमा सुधार हुँदै आएको बताइन् । ‘महिला फुटबलमा सुधार हुँदैछ । एपीएफको टिममा पनि सुधार छ । च्याम्पियन हुँदै आएका छौँ, धनकुटाबाहेक पि्रती राई र सुस्मिता तामाङ जस्ता नयाँ खेलाडी आएका छन्,’ उनले भनिन्, ‘आधुनिक फुटबलमा अहिले सबै टिमले बल पोसेसन राखेर खेल्न खोजिरहेका छन् ।’

अहिलेसम्म एपीएफको नतिजा र सावित्राको गोल

एपीएफ ६-० चन्द्रपुर, सावित्रा ३ गोल

एपीएफ ७-० विराटनगर, सावित्रा ४ गोल

एपीएफ २-० आर्मी, सावित्राले गोल गर्न सकिनन्

एपीएफ ३-० पुलिस, सावित्रा ३ गोल

एपीएफ ३-० वालिङ, सावित्रा २ गोल

एपीएफ २२-० चौदण्डीगढी, सावित्रा १२ गोल

एपीएफ १४-० चौदण्डीगढी, सावित्रा ८ गोल

एपीएफ ८-० चन्द्रपुर, सावित्रा ६ गोल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment