Comments Add Comment

टाइगर कप भलिबल : आर्मीमाथि एपीएफको रोमाञ्चक जित

२९ माघ, काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपाल एपीएफ क्बलले पहिलो जित हात पारेको छ ।

बिहीबार भएको आफ्नो दोस्रो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो । पहिलो खेलमा एपीएफ नेपाल पुलिस क्लबसंग पराजित भएको थियो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको रोमाञ्चक खेलमा एपीएफले आर्मीलाई ३-२ को सेटमा पराजित गरेको हो । विभागीय भिडन्तमा पहिलो सेट आर्मीले २५-१८ ले जित्दै अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट एपिएफले ट्राइबेकमा २७-२५ ले जित्दै खेल बराबरी गर्‍यो । तेस्रो सेट एपिएफले सहजै २५-१७ ले जित्दै २-१ को अग्रता बनायो ।

चौथो सेटमा आर्मीले पुनरागमन गर्दै २५-२० ले आफ्नो पक्षमा पार्दा खेल निर्णायक सेटसम्म पुगेको थियो । पाँचौ तथा अन्तिम सेट १५-७ ले जित्दै एपीएफले जित हात पारेको हो ।

पाँच सेटमा पुगेर जित हात पारेको एपीएफले २ अंक जोडेको छ । पराजित भएपनि आर्मीले १ अंक प्राप्त गरेको छ । पाँच सेट चलेको खेलमा जित्ने टिमले २ तथा हार्ने टिमले १ अंक पाउनेछन् ।

चार टिम सम्मिलित प्रतियोगितामा तीनवटै खेल हारेको आर्मीको २ अंक छ । पहिलो खेलमा आर्मी न्यू डायमण्डसंग ३-२ कै सेटमा पराजित भएको थियो । २ अंक मात्र रहेको आर्मी फाइनल होडबाट बाहिरिसकेको छ ।

एपीएफको २ खेलबाट २ अंक छ । एपीएफले अन्तिम लिग खेलमा शुक्रबार न्यू डायमण्डसंग खेल्नेछ । न्यू डायमण्डको एक खेलबाट २ अंक छ । लगातार दुई खेल जितेर पुलिस ६ अंकसहित शीर्ष स्थानमा छ ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, दोस्रोले ७५ हजार तथा तेस्रोले नगद ३५ हजार प्राप्त गर्ने छ । चौथोले १५ हजार पुरस्कार पाउनेछन् ।

यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment