Comments Add Comment

माटोको गुणस्तर थाहा पाउने विद्युतीय नक्सांकन सकियो

२ फागुन, काठमाडौं । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान केन्द्रले चार वर्ष अध्ययन गरेर माटोको गुणस्तर थाहा पाउन सकिने विद्युतीय नक्साकंन सम्पन्न गरेको छ ।

यसै साता सार्वजनिक गर्ने गरी अन्तिम तयारी सकिएको उक्त नक्साकंनले ५६ वटा जिल्लाको माटोको गुणस्तर इन्टरनेटको माध्यमबाट थाहा पाउन सकिने छ ।

किसानले अब आफ्नो खेतबारीका माटोको उर्बराशक्ति, अम्लीयपन प्रांगारिक पदार्थ माटोको बनोट जस्ता जानकारी वेबसाइटमार्फत सजिलै पाउन सक्ने राष्ट्रिय माटो विज्ञान केन्द्रका वरिष्ठ माटो वैज्ञानिक डा. श्रीप्रसाद विष्टले अनलाइनखबरलाई बताए ।

देशभरबाट २३ हजार २७३ वटा माटो नमूनाको नतिजाको आधारमा उक्त विद्युतीय विवरण तयार पारिएको डा.विष्टले बताए । अरु बाँकी जिल्ला पनि नक्सांकानमा छिटै समावेस हुने उनको भनाई छ । ‘आफ्नो जमिन भएको ठाउँको माटोको गुणस्तर कस्तो छ र त्यहाँ कुन बाली लगाउने भन्ने थाहा पाउन सक्ने गरी किसानले घरबाटै हेर्ने गरी यसै साता उक्त कार्यक्रम सार्वजनिक गर्ने तयारीमा छौं,’ डा. विष्टले भने ।

विद्युतीय नक्सांकनले किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्नेछन् । नक्सांकन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिने नार्कले जनाएको छ ।

कुन ठाउँको माटोमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ ? कुन ठाउँमा कस्तो किसिमको मल आपूर्ति गर्ने, माटोको सुधारका लागि अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा तथा सुक्ष्म खाद्य तत्वहरुको सन्तुलन कसरी गर्ने ? जस्ता निर्णय लिन सहज हुनेछ बताइएको छ ।

दक्षिण एशियामै पहिलो पटक नेपालमा गरिएको उक्त नंक्साकंनमा करिब चारदर्जन वैज्ञानिक सहभागी भएको माटो विज्ञान केन्दले जनाएको छ । माटोको विद्युतीय नक्सांकनबारे केन्दले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment