Comments Add Comment

करिश्मा भन्छिन्–‘लैंगिक समानताका लागि मैले ‘महानायिका’ स्विकारेँ’

सन् २०१४ मा नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उपाधि दियो । करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्राविधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिएको थियो ।

उसो त, करिश्मालाई नेफ्टाले ‘सदाबहार नायिका’को उपाधि नदिदा पनि दर्शक तथा मिडियाले उनलाई ‘सदाबहार नायिका’ नै भन्दै आएका थिए । यसपछि, भने उनको नामको अगाडि यो ट्याग अझै विशेष तरिकाले प्रयोग गर्न थालिएको हो ।

उनै, करिश्मालाई केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको कार्यक्रममा आर.के इन्टरटेन्मेन्ट नामक एक संस्थाले ‘महानायिका’को उपाधि दियो । करिश्माले दुबोको माला लगाएरै सम्मान ग्रहण गरिन् । यसपछि भने करिश्मालाई दिइएको यो उपाधिमाथि प्रश्न चिन्ह पनि उठ्न थालेको छ ।

के करिश्मालाई उपाधिको आवश्यकता छ ? के करिश्मा मानन्धर आफैमा ब्रान्ड होइनन् ? उनी आफूलाई ‘महानायिका वा सदाबहार नायिका’मध्ये के भन्न चाहन्छिन् ? यो बिषयमा अनलाइनखबरका लागि ‘विजय आवाज’ले करिश्मासँग गरेको छोटो कुराकानी यसप्रकार छः

१. तपाइलाई सन् २०१४ मा चलचित्र प्राविधिक संघले ‘सदाबहार नायिका’को उपाधि दिएको थियो । फेरि, तपाइले केही दिन अगाडि मात्र ‘महानायिका’को उपाधि पनि ग्रहण गर्नु भयो ? अब तपाइलाई ‘महानायिका वा सदाबहार नायिका’ के भन्ने त ?

मैले यो बिषयमा बोल्न चाहेको थिइनँ । कुनै संघ संस्था भनेको केही जनताको समुह हो । केही समुहले मलाई केही देख्ला, अर्कोले अर्कै देख्ला । मैले ‘नाई’ भन्न मिल्दैन । प्राविधिक संघले मलाई दिएको ‘सदाबहार नायिका’को उपाधि पनि मैले ‘नाई’ भन्न मिल्थ्यो होला । तर, उनीहरुले मलाई यही नै देखे र दिए । उसो त, ‘सदाबहार’ भन्ने त केही पनि छैन । तर, पनि मैले लिएँ ।

अब, मलाई ‘महानायिका’को उपाधि दिइएको छ । यो पनि मैले स्विकार गरेँ । जतिबेला राजेश हमाललाई ‘महानायक’को उपाधि दिइएको थियो सोही समयमा कुनै एक जना नायिकालाई ‘महानायिका’को उपाधि दिनुपथ्र्यो । यसो हुँदा लैंगिक समानता देखिन्थ्यो ।

यत्रो बर्षपछि मलाई दिदा मैले किन स्विकार गरेँ भने, महिलाको ढिलै भएपनि समानता छ है । महिला समान सम्मानको हकदार छ भन्ने सन्देश दिनका लागि मैले ‘महानायिका’को उपाधि स्विकार गरेकी हुँ । यो कुनै एक समुहले दिएको हो । सबैले मान्नुपर्छ भन्ने पनि छैन । कसैले मलाई के देख्लान्, कसैले के देख्लान् । त्यो त सबैको आ–आफ्नो विचारको कुरा हो । मैले यही नै भन्नुपर्छ भन्न मिल्दैन ।

२. तपाई आफैले आफूलाई ‘महानायिका’ मान्नुहुन्छ कि हुँदैन ?
हरेक मान्छे आफ्नो जीवनको ‘महानायक–महानायिका’ हो नी । उसले आफ्नो समस्या आफैं समाधान गरिरहेको हुन्छ । आफ्नो क्षेत्रमा उसले शत–प्रतिशत दिइरहेको हुन्छ । तर, यहाँ एउटा कुरा के छ भने, कुनै दौड प्रतियोगीतामा एउटा मान्छे नम्बर १ हुदैंनथ्यो भने उक्त प्रतियोगीता हुनुको कुनै अर्थ हुँदैन । अगाडि पुग्ने नै १ नम्बरमा हुन्छ । यो सबैले मान्नुपर्छ । प्रधानमन्त्री र उहाँको ड्राइभरका धेरै फरक त छैन नी । दुबै जनाको रगत त रातो नै हो । तर, उहाँहरुमा भएको क्षमतामा फरक पार्छ ।

३. मिडियाले तपाइलाई ‘सदाबहार नायिका कि महानायिका’ लेखोस् भन्ने चाहनुहुन्छ ?
मलाई केही पनि लाग्दैन । ‘सदाबहार’ त केही पनि हुँदैन । तर, मैले स्विकार गरेँ । प्राविधिकहरुले दिएको सम्मान हो । तर, मानिसको जिउ त गल्ने कुरा हो । ‘सदाबहार’ भन्ने चिज केही पनि हुँदैन ।

४. कतिपयले, ‘करिश्मा मानन्धर’ आफैमा एउटा ब्रान्ड नाम हो । यसको अगाडि ट्याग किन भिराइराख्नुपर्छ र पनि भन्छन् नी ?
मलाई यसमा विवाद र बहस गर्नु नै छैन । महिलालाई राम्रो हुने प्रकारको सन्देश जाओस् भन्ने मात्र मेरो चाहना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

चर्चामा मलिका

Advertisment