Comments Add Comment

आईपीएल अक्सन : भोलि सन्दीपलाई कुन टिमले छान्ला ?

५ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणका लागि मिनी अक्सन बिहीबार चेन्नाईमा हुँदैछ । अक्सन लिस्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको नाम पनि समावेश छ ।

केही समयअघि मात्र सन्दीप अष्ट्रेलियामा बिग बास लिग खेलेर स्वदेश फर्किएका थिए । हाल उनी क्यानले आयोजना गरेको बन्द प्रशिक्षणमा व्यस्त छन् ।

२० जना रहेको बन्द प्रशिक्षणमा सन्दीपसहित ११ जनाले भने आइतबारदेखि मात्र प्रशिक्षण सुरु गरेका थिए ।

बन्द प्रशिक्षणको पहिलो दिनमै सन्दीपसँग आईपीएल अक्सनलगायत विभिन्न विषयमा कुराकानी गर्ने अवसर मिलेको थियो।

आईपीएलको अक्सन भोलि हुँदैछ र अहिले नेपाली क्रिकेटप्रेमीको ध्यान चेन्नईतर्फ तानिएको छ ।

अहिले सबैको मनमा एउटै कुरा खेलिरहेको छ सन्दीप आईपीएलमा छनोट हुन्छन् कि हुँदैनन् वा कुन टिमले सन्दीपलाई किन्ला भने ।

आईपीएल अक्सनका लागि नेपालबाट सन्दीपसहित ८ खेलाडीले नाम दर्ता गराएका थिए । जसमा मिनी अक्सनका लागि बीसीसीआईले छनोट गरेको २९२ खेलाडीको सूचीमा सन्दीप मात्र समावेश भएका हुन् ।

यसअघि लगातार तीन सिनज दिल्ली क्यापिटल्समा बिताएका सन्दीपलाई नयाँ सिजनअघि दिल्लीले रिलिज गरेपछि उनी अक्सनमा पुगेका हुन् ।

मिनीअक्सन भएकोले फ्रेन्चाइजहरुले यसपटक समेत खेलाडी अक्सनबाट लिनेछन् । यस्तै, टिम कम्बिनेसन र टिमसँग बाँकी रहेको ब्यालेन्स रकमको आधारमा खेलाडी छनोट गरिनेछ ।

सन्दीपले अक्सनअघि आफूले खासै त्यस्तो केही नसोचेको बताए । ‘अक्सनबारे म त्यस्तो केही सोच्दिन । यसअघि पनि केही सोचेको थिइन । नाम गएपछि छनोट भएँ ।’ सन्दीपले भने ‘जे हुनु छ भएरै छाड्छ त्यसमा के हुन्छ थाहा छैन । अब गुड लक टु माइसेल्फ के हुन्छ लेट्स सी ।’

युएईमा सम्पन्न १३औं संस्करणको आईपीएलमा सन्दीपले कुनै खेल खेल्न पाएनन् । त्यसअघिको दुई संस्करण सन्दीपले दिल्लीबाट खेलेका थिए । तर पछिल्लो संस्करण फरक रह्यो ।

पछिल्लो समय आईपीएलको फ्रेन्चाइजले विदेशीभन्दा घरेलु स्पिनरहरूलाई बढी प्राथमिकता दिन थालेका छन् । सन्दीपले पनि यो कुरा बुझेका छन् । त्यसैले उनी अक्सनमा जे भएपनि खासै फरक नपर्ने बताउँछन् ।

कुन टिमले छान्ला त ?

‘कुन टिमले लिन्छ सोचेको छैन । २-३ टिम छन् जसमा लेग स्पिनर चाहिन्छ । अब त्यसमा पनि हुन सक्छ ।’ सन्दीपले भने ।

पछिल्लो समय लेग स्पिनरहरूलाई आईपीएलमा कम खेलाउन थालिएको छ र घरेलु खेलाडीलाई नै बढी प्राथमिकता दिन थालिएको छ । यसमा यस्तो कारण रहेको सन्दीपले बताए । ‘आफ्नै देशको लेग स्पिनर छन् भने तिनीहरु एभरेज नै भए पनि उहाँहरूलाई चुज गरेर विदेशी कोटामा ब्याट्सम्यान, फास्टर बलरलाई काउन्ट गर्न खोज्छ ।’ सन्दीपले भने । ‘त्यस्तो बेला विदेशी स्पिनरलाई खेलाउन गाह्रो हुन्छ । नेपालमा पनि बाहिरबाट खेलाडी बोलाउँदा टिमको कम्बिनेसन हेर्दा त्यस्तै हुन्छ ।’

यसपटक सन्दीपलाई कुनै टिमले लिँदैन भन्ने भल्ला पनि छ भन्ने सन्दर्भमा सन्दीपले आफूलाई कहिल्यै पनि शंका नगर्ने बताए । ‘तपाईंलाई लिने नलिने भन्ने टाइमिङको कुरो हो । आफूमा ट्यालेन्ट छ राम्रो गर्न सकिन्छ भने लिन्छ । म आफैँलाई शंका गर्दिन । मुख्य कुरा गो एण्ड पर्फर्म हो ।’

‘यो सबै टिमको हातमा हुन्छ । यो वर्ष मैले सोचेको थिइनँ पूरै बाहिर बस्नुपर्छ भनेर ।अब कति बिक्न पनि सक्छ नबिक्न पनि सक्छ ।’

सन्दीपले यस पटक बेस प्राइज ४० लाख भारु राखेका छन् । तीन वर्षअघि उनलाई दिल्लीले २० लाख भारु बेस प्राइजमै अनुबन्ध गरेको थियो । यसपटक उनले बेस प्राइज दोब्बर पारेका छन् । तर अन्य खेलमा त्योभन्दा बढी रकममा समेत अनुबन्ध भएर खेलिसकेका छन् । उनले यो बेस प्राइज मात्र रहेको र आफूले पैसाभन्दा अवसर हेरेको बताए । ‘यसमा खासै केही छैन । कसैले किन्नुछ भने १ करोड बेस प्राइज राखेपनि किन्छ । नभएर ४० लाख बेस प्राइज राखेपनि किन्दैन,’ सन्दीपले भने, ‘त्यो एउटा सेटअफ मात्र हो । मैले पैसाको लागि हेरिरहेको छैन अवसरका लागि हेरेको छु ।’

लगातार तीन वर्ष दिल्लीमा बिताएपछि सन्दीप फेरि अक्सनमा जाँदै छन् । उनको लागि यो दोस्रो अक्सन हुनेछ । अब कुन टिमले लिन्छ वा लिँदैन भन्ने थाहा पाउन एकदिन कुर्नुपर्नेछ ।

तर दिल्लीमा बिताएका क्षण भने सन्दीपको लागि यादगार नै हुनेछ । सन्दीपलाई रिलिज गरेपछि पनि फ्रेन्चाइजले सन्दीपको बारेमा सामाजिक सञ्जालहरुमा पोष्ट गरेको थियो । सन्दीपले पनि दिल्लीलाई मेन्सन गरेर धन्यावद व्यक्त गरेका थिए । यो तीन वर्षमा दिल्ली परिवाजस्तै बनेको सन्दीपले बताए ।

‘दिल्ली परिवारजस्तै भइसकेको थियो । जहाँबाट मैले आफ्नो करियर सुरु गरेँ । त्यसअघि हङकङमा पनि खेलेँ । तर लामो समय फ्रेन्चाइज क्रिकेटमा बिताएको त्यही हो । भावनात्मक रुपमा अट्याचमेन्ट थियो ।’

यसअघि सन्दीपलाई मुम्बई इन्डियन्स पनि मन पर्ने टिममा थियो । सानोमा सचिन तेन्दुरलाई देखेर उनको फेभरेट टिम मुम्बई बनेको थियो । पछिल्लो वर्षहरुमा विदेशमा लिग खेलेपछि उनमा परिपक्वता पनि आएको छ । त्यसैले अहिले भने जुन टिमले लिए पनि कुनै फरक नपर्ने उनले बताए । ‘सानोमा सचिन फेभरेट थियो त्यही भएर मुम्बई मन पर्थ्यो । एज ए प्रोफेसनल क्रिकेटर अब जुन टिमले लिए पनि आफ्नो कर्तव्य पूरा गर्ने हो । जुन टिमले लिन्छ त्यसमा राम्रो सम्बन्ध राखेर खेल्ने हो ।’

तीन वर्ष दिल्लीमा बिताएपछि दिल्लीले सन्दीपको लागि के अर्थ राख्छ त ? ‘नेपालको लागि खेल्नु नै महत्वपूर्ण कुरा हो । म यहाँबाटै चिनिएको हो । यहाँ नखेलेको भए त्यहाँ पनि हुन्थिन होला ।’ सन्दीपले भने ।

उनले आफ्नो लागि बीबीएलको महत्व जुन प्रकारको छ आईपीएलको त्यही महत्व रहेको बताए ।

आईपीएल अक्सनअघि सन्दीप त्यति सारो उत्साहित नभए पनि कुनै टिमले छान्नेमा आशावादी छन् । मिनी अक्सन भएकोले यसपटक फ्रेन्चाइजले लिने खेलाडी संख्या कम छ । विदेशी खेलाडीको कोटामा सबैभन्दा धेरै किंग्स ११ पञ्जावले ५ खेलाडी अनुबन्ध गर्न सक्नेछ । यस्तै, मुम्बई इन्डियन्स र रोएल च्यालेन्जर्स बैंगलोरले ४-४ तथा दिल्ली र राजस्थान रोएल्सले समान ३ विदेशी खेलाडी लिन पाउनेछन् । कोलकता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले १-१ विदेशी लिन पाउनेछन् ।

यस्तोमा टिम कम्बिनेसन अनुसार फ्रेन्चाइजले विदेशी खेलाडी छान्नेछ । यसपटक पञ्जाव र मुम्बईलाई सन्दीपलाई लिन सक्ने टिमको रूपमा हेरिएको छ । अब सन्दीप कुन टिममा जानेछन् त्यो थाहा पाउन पनि भोलिको अक्सन कुर्नुपर्नेछ । अक्सन दिउँसो ३ बजे चेन्नाईमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment