Comments Add Comment

बौद्धमार्गी देशमा उडान विस्तारको योजनामा वायुसेवा निगम

५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले बौद्धमार्गी मुलुकमा उडान विस्तारको योजना बनाएको छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले नेपाल वायुसेवा निगमले बौद्धमार्गी बाहुल्य भएका देशमा उडान बिस्तारको योजना रहेको जानकारी गराएका छन् ।

बुधबार नेपाल एयरलाइन्स र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवर्द्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सम्झौता अनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास गरिने उल्लेख छ । लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धसँग सम्बन्धित क्षेत्रको पर्यटन विकासमा दुवै संस्थाले प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने भएका छन् । निगमका महाप्रवन्धक पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदय रत्न बज्राचार्यबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवर्द्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ । पर्यटन र बुद्ध दर्शनसँग सम्वन्धित विशेष कार्यक्रम बनाउन र त्यसलाई कार्यान्वयन गर्ने बारे पारस्परिक समझदारी र सहयोगको आधारमा गरिनेछ । उड्डयन र पर्यटनको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारी पत्रमा उल्लेख छ । लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पर्यटन सँग सम्वन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्ने भएको छ ।

विश्वविद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ । लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ । यो सम्झौता हाललाई चारवर्षको लागि गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिनेछ । प्रा.डा. बज्राचार्यले बुद्ध धर्म मात्र नभएर यसले दर्शनको महत्व बोकेको कारण विश्व विद्यालयले त्यसै अनुसार कार्यक्रम संचालन गरेको धारणा व्यक्त गरे ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment