Comments Add Comment

सर्लाहीमा प्रचण्ड-माधवले भने : ओलीको कदमविरुद्ध सबै एकजुट होऔं

वाग्लेको मृत्युभित्र ठूलो रहस्य लुकेको छ : प्रचण्ड

६ फागुन, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्व एकजुट भएर लड्न आग्रह गरेका छन् ।

निधन भएका पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको १३ औं दिनको अवसर पारेर जिल्लाको हरिपुर नगरपालिका १ हजारबिघामा आयोजना गरिएको श्रद्वाञ्जलीसभालाई सम्बोधन गर्दै प्रचण्ड र माधव नेपालले प्रतिगामी कदम परास्त गर्नुपर्ने बताए ।

प्रचण्डले प्रधानमन्त्री ओली निरंकुश बन्न खोजेको बताए । ‘यो प्रतिगामी र निरंकुश कदमविरुद्ध देशभित्र र बाहिर रहेका सबै नेपालीहरु जाग्नुपर्ने आवश्यकता छ’ उनले भने, ‘नेपाली जनताले पुनः एक पटक राष्ट्रहितका लागि संकल्प गर्नुपर्ने अवस्था आएको छ ।’

अर्का अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक र प्रतिगमनकारी भएको बताए । उनले यो कदमविरुद्व एकजुट भएर अगाडि बढ्न नेता/कार्यकर्तासँग आग्रह गरे ।

वाग्लेको मृत्युभित्र ठूलो रहस्य लुकेको छ : प्रचण्ड

अध्यक्ष प्रचण्डले नेता डाचाराज वाग्लेको मृत्यु रहस्यमय भएको बताए । ‘उनको मृत्यु सामान्य दुर्घटनाबाट मात्र भएको छैन । यसमा ठूलो रहस्य लुकेको छ’ उनले भने, ‘उनको मृत्युबारे सत्यतथ्य समयमै बाहिर ल्याउन सरकारसँग माग गर्दछु ।’

केन्द्रीय सदस्य प्रल्लाद बुढाथोकीको संयोजकत्वमा पार्टीले गठन गरेको आन्तरिक छानविन समितिको प्रारम्भिक प्रतिवेदनले दुर्घटना रहस्यमय देखिएको भन्दै उनले यति ठूलो दुर्घटनाका विषयमा गैर जिम्मेवार नबन्न सरकारसँग माग गरे ।

मृतक वाग्लेले मिटरब्याजी, सुदखोरका कारण प्रताडित सयौं महिलालाई न्याय दिलाएको भन्दै उनले भने, ‘त्यस्ता पीडितलाई लिएर मेरो निवास खुमलटार पटक–पटक आउँदा तीनवटै सुरक्षा निकायका प्रमुख सम्बन्धित मन्त्री, सचिव लगायतलाई त्यसबारे कार्बाही अभियान अगाडि बढाउन निर्देशन दिएको थिएँ ।’

अर्का अध्यक्ष नेपालले पनि वाग्ले सच्चा, इमान्दार, कर्मठ, जुझारु कम्युनिष्ट नेता रहेकाले उनको जीवनशैली एवं आचरणको सबै कम्युनिष्टले अनुशरण गर्नुपर्नेमा जोड दिए ।
श्रद्वाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले यो शोकलाई शक्तिमा परिणत गर्दै पार्टीमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टीका नेता महेन्द्र यादव, नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामेश्वर राय यादव, वाग्लेकी पत्नी सरस्वती मिश्र वाग्ले, हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर लगायतले वाग्लेप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment