Comments Add Comment

कंगोमा इटालीका राजदूतको हत्या

१० फागुन, काठमाडौं । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिकन कंगोमा इटालीका राजदूत लुका अट्टानासिओको हत्या भएको छ । इटालीको विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विज्ञप्ति अनुसार सोमबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका सैन्य दलमा भएको आक्रमणमा उनको मृत्यु भएको हो । अपरिचित समूहले गरेको यो आक्रमणमा परी उनीसँगै अर्का एक सुरक्षाकर्मीको पनि मृत्यु भएको छ ।

कंगोको पूर्वी क्षेत्रमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन मोनुस्कोमा आफ्नो कारमा यात्रा गरिरहेको समयमा अट्टानासिओमाथि आक्रमण भएको हो । कंगोका अधिकारीहरुले आक्रमणकारीले गोली लागी अट्टानासिओको मृत्यु भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार कंगोको सेनाले अहिले आक्रमणकारीको खोजीको प्रयास भइरहेको बताएको छ । इटालीका सञ्चारमाध्यमकाअनुसार आक्रमणकारीहरुले शान्ति मिसनमा गएका सैनिकलाई पक्राउ गर्ने प्रयास गरिरहेका थिए ।

यो आक्रमण कंगोको नर्थ किभु प्रान्तको राजधानी गोमामा स्थानीय समयअनुसार सवा १० बजे भएको हो । यो प्रान्तमा लामो समयदेखि सशस्त्र समूहले हिंसात्मक आक्रमण गर्दै आएका छन् । अट्टानासिओ सन् २०१९ को सुरुआतदेखि कंगोको राजदूत रहँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment