Comments Add Comment

भूकम्पले क्षतिग्रस्त गुम्बा ५ वर्षपछि बल्ल पुनर्निर्माण हुँदै

१० फागुन, गोरखा । भूकम्प गएको ५ वर्षपछि बल्ल गोरखामा गुम्बा पुनर्निर्माण सुरु भएको छ ।

यसअघि क्षतिग्रस्त केही गुम्बा मर्मतको काम भएपनि पुनर्निर्माण भने भएको थिएन । रकम नआएका कारण यसअघि काम हुन नसकेकामा चालु आर्थिक वर्षमा ५ करोड ४० लाख ८० हजार रुपैयाँ आएपछि पुनर्निर्माण सुरु भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाका प्रमुख रामशरण आचार्यले ९ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट आएको बताए ।

यो बर्ष चुमनुब्री गाउँपालिका–४ को पालरी गुम्बा, किटेन गुम्बा, नाम्ला कार्डिङ छोय खोर्लिङ, वडा नम्बर २ को नववुद्ध ध्यान तथा शिक्षक केन्द्र, बारपाक सुलिकोट गाउँपालिका–३ को हिमाली समाज ककलिङ गुम्बा, वडा नम्वर १ को खुम्चे गुम्बा पुनर्निर्माण हुनेछन् ।

त्यस्तै अजिरकोट गाउँपालिका–४ को हिमाली समाज गुम्बा, आरुघाट गाउँपालिका–९ को सम्बाछ्यो खोर्लिङ बौद्ध गुम्बा र सिरानचोक गाउँपालिका–८ को पाल्तेन तमु गुम्बा पनि यसै बर्ष पुनर्निर्माण हुने उनले जानकारी दिए । ‘सम्झौता भएर काम सुरु भइसक्यो, असार मसान्तसम्ममा काम सक्नुपर्छ,’ उनले भने ।

कार्यालयको तथ्याङ्क अनुसार भूकम्पले जिल्लाका १०४ वटा गुम्बामा क्षति पुर्‍याएको थियो । ९१ वटामा पूर्ण र १३ वटामा आशिंक क्षति पुगेको कार्यालय प्रमुख आचार्यले बताए । पूर्ण क्षति भएका अधिकांश गुम्बा चुमनुब्री गाउँपालिकामा पर्छन् ।

आंशिक क्षति पुगेका गुम्बाहरु मर्मत भइसकेका छन् । करिव ८१ लाख खर्चेर मर्मत गरिएको आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment