Comments Add Comment

पीसीआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टिनमा नराखौं : पर्यटन व्यवसायी

१० फागुन, काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संगठनका प्रतिनिधिले नेपालमा पर्यटकलाई तोकिएको कडा क्वारेन्टिनको प्रावधान हटाउन माग गरेका छन् । सोमबार संयुक्त कार्यक्रम आयोजना गर्दै व्यवसायीले क्वारेन्टिनको अनिवार्य प्रावधान हटाउन सरकारसँग माग गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी भएको भन्दै व्यवसायीले पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नभएको समेत गुनासो गरेका छन् ।

नेपाल सरकार र सरकारका विभिन्न निकायमा लिखित र मौखिक रुपमा राखी सम्बोधनका लागि अनुरोध गर्दागर्दै समेत सरकारले ध्यान नदिएको व्यवसाइले बताएका छन् । ट्रेकिङ्ग एजेन्सिसज एशोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल होटल संघ (हान), नेपाल पर्वतारोहण संघ (एनएमए), हिमालयन उद्वार संघ, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल -सोटो नेपालसहित दुई दर्जन भन्दा बढी संघसंस्थाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अनअराइभल भिसा माग

व्यवसायीले नेपाल आउने सबै पर्यटकलाई अनअराइभल सेवा समेत सूचारु गर्न माग गरेका छन् । अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट भिसाको व्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने माग व्यवसायीको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेसिन राखी पर्यटकलाई तत्काल स्वाब संकलन गरी नतिजा दिन सक्ने व्यवस्थापनको माग समेत व्यवसायीले गरेका छन् ।

हवाई उडान सूचारु गर

पर्यटन व्यवसायीले नेपालमा पर्वतारोहण सिजन नजिकिएको भन्दै हवाई यातायात समेत सूचारु गर्न माग गरेका छन् ।

हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न पहल गर्नुपर्ने उनीहरुको माग छ । कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकलाई पनि उपलब्ध गराउनुपर्ने व्यवसायीको माग छ ।

उनीहरुले नेपाल र चीनबीचको सीमा नाका यथाशीघ्र खोल्न पहल गर्नुपर्ने समेत बताएका छन् ।

नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमण गर्न-गराउन पाउनु पर्ने ब्यवस्था गर्नुपर्ने माग व्यवसायीको छ ।

नेपाल-भारतका र नेपाल र चीन सीमानाबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने र कम्तिमा ५ हजार अमेरिकी डलर बराबरको कोरोना बिमाको प्रावधान समेत हटाउनु पर्ने व्यवसायीले बताएका छन् । कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकलाई सहज र निर्वाध रुपमा घुम्न दिइनु पर्ने माग समेत उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment