२ असोज, काठमाडौं । सरकारले पर्यटन व्यवसायी डा. कल्याणराज शर्मालाई सरकारले चीनका लागि राजदूत सिफारिस गरेको छ । पर्यटन व्यवसायमा लामो समयदेखि सक्रिय शर्माले ट्राभल एजेन्सी एडभेन्चर आउटडोर एक्सकर्सन प्रालिका अध्यक्ष हुन् ।
उनको ट्राभल एजेन्सीले खासगरी चिनियाँ पर्यटकलक्ष्यित प्याकेजहरू सञ्चालन गर्दै आएको छ । उनले हिमालयन तथा सीमापार पर्यटन प्रवद्र्धनमा योगदान गरिरहेका उनी एपेक्स फन्ड्स लिमिटेडका सञ्चालक छन् । साथै, नेपाल विद्युत प्राधिकरणको सब्सिडियरी विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल)का पनि उनी स्वतन्त्र सञ्चालक हुन् ।
‘पर्यटनका सबै मर्म बुझेका व्यवसायी हुन्,’ ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष ज्योति अधिकारी भन्छन्, ‘चीन र नेपालबीचको सम्बन्ध, दुवै देशका स्वाद, चाहना र पर्यटनका सम्भावनाहरूलाई उनले गहिराइबाट बुझेका छन् । उनको कार्यकाल नेपालको पर्यटन क्षेत्रका लागि ऐतिहासिक र अतुलनीय योगदान दिने कार्यकाल बन्न सक्छ ।’
प्राज्ञिक हिसाबले डा. शर्मा चिनियाँ विद्या (सिनोलोजी) का अध्येता र अर्थशास्त्री हुन् । उनले चीनको फुदान विश्वविद्यालयबाट ‘प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषण’ मा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
उनी हाल फुदान विश्वविद्यालय पूर्व विद्यार्थी सङ्घ नेपाल, नेपाल–चीन मैत्री मञ्च र चिनियाँ विद्या अध्येता परिषद्–नेपालका अध्यक्ष छन् । नेपाल–चीन मैत्री मञ्च उनैले स्थापना गरेको संस्था हो ।
यसले नेपाल चीन सम्बन्ध र खासगरी बेल्ट एन्ड रोड इनिसियटिभका बारेमा निरन्तर कार्यक्रमहरु आयोजना गर्दै आएको छ । उनले नेपालमा चिनियाँ भाषा तथा संस्कृति प्रवद्र्धनमा काम गरिरहेको बताएका छन् । साथै, उनी काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ म्यानेजमेन्ट’ मा भिजिटिङ फ्याकल्टीका रुपमा काम गरिरहेका छन् ।
नेपाल–चीन सम्बन्धमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई राष्ट्रपतिबाट ‘नेपाल भूषण’ (२०१६) प्रदान गरिएको थियो । साथै, ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ (२०२१)बाट पनि उनी सम्मानित भएका छन् । यो पुरस्कार पाउने उनी विश्वभरका १२ जनामध्ये एक हुन् । उनले नेपाल चीन सम्बन्धका बारेमा विभिन्न पत्रपत्रिकामा लेख प्रकाशन गर्नुका साथै विचार पनि व्यक्त गर्ने गरेका छन् ।
प्रतिक्रिया 4