Comments Add Comment

नारायणगढ-गोन्द्राङ ६ लेन सडक विस्तारमा बिजुलीका पोल बाधक

विद्युत प्राधिकरण भन्छ-सडक आयोजनाले हामीसँग समन्वय गरेन

११ फागुन, चितवन । चितवनको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारमा विद्युतका पोल सार्ने काम मुख्य चुनौती बनेको आयोजनाले जनाएको छ । पोल सार्ने कामले सडक विस्तारमा ढिलाइ हुने चिन्ता थपिएको आयोजनाको भनाइ छ ।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडक आयोजनाका इन्जिनियर शिव खनालले गोन्द्राङदेखि केन्द्रीय बस टर्मिलनसम्म सडकको दुबै क्षेत्रमा सडक सीमाको पर्खाल लगाएर माटो भर्ने काम सुरु गरिएको बताए । विभिन्न ठाउँमा कल्भर्टहरु बनाउने काम पनि धमाधम भैरहेको छ । तर, पोल सार्ने काममा ढिलाइ हुने हुँदा त्यसले समग्र कार्यप्रगतिमा नै असर गर्न सक्ने देखिएको छ ।

पोल सार्न आयोजनाले तयार गरेको स्टिमेट स्वीकृत हुन अझै बाँकी छ । सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । २८ महिनाभित्र विस्तार गरिसक्ने सडकको लागत एक अर्ब १२ करोड रुपैयाँ छ । सडकको माघ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

आयोजनाले विद्युत पोल सार्न, रुख कटान तथा खानेपानीको पाइपका लागि भन्दै ५ करोड रकम छुट्टाएको छ । बर्खाअघि गोन्द्राङदेखि बसपार्कसम्म सर्भिस लेनसमेत तयार गरेर सवारी सोही ठाउँबाट हिँडाउने र मुख्य राजमार्गको भाग भत्काएर काम थाल्ने योजनामा विद्युत पोल बाधक बन्ने अवस्था छ । टाँडीबाट भरतपुरतर्फ आउँदा दक्षिणतर्फ नाली बनाउने ठाउँमा नै अधिकांश पोल छ ।

रुख कटान तथा अन्य संरचनाहरु भत्काएर साइट क्लियर गराउने काम अघि बढे पनि पोलले समस्या गराउने अवस्था आएको इन्जिनियर खनालले बताए । उनले यसका लागि प्राधिकरणसँग सडक डिभिजन कार्यालय तथा ठेकेदारले समन्वय गरिरहेको बताए । ‘बसपार्कदेखि गोन्द्राङसम्म पहिले काम गरेर यसको ट्रायल पनि गर्ने योजना छ,’ इन्जिनियर खनालले भने, ‘मल्टिलेन सडकमा गएको नेपाल ५६ वर्ष मात्रै भयो, यो ६ किलोमिटर सडकको एक अंशमा पहिला काम सक्ने योजना छ ।’ उनले बसपार्कदेखि गोन्द्राङसम्म विद्युत तार भूमिगत गर्ने योजना नरहेको बताए ।

‘सडक आयोजनाले विद्युत प्राधिकरणसँग समन्वय गरेन’

यता, विद्युत प्राधिकरण भरतपुर वितरण केन्दका प्रमुख राजिव सिंह विद्युत प्राधिकरण सडक विस्तारमा कहीँ पनि बाधक नभएको बताउँछन् । सडक आयोजनाले प्राधिकरणसँग समन्वय नगरेको उनको आरोप छ । तर, आफू सोही कामका लागि काठमाडौं आएको उनको भनाइ छ । ‘हामीले पोल सार्ने हैन, उहाँहरुले ठेक्का लगाएर पोल सार्ने हो, हामीले त प्राविधिक सहयोग र समन्वय मात्रै गर्ने हो,’ वितरण केन्द्र प्रमुख सिंहले भने, ‘अब सरोकारवालाहरुसँग म बैठक राख्दैछु, त्यहाँबाट कस्तो निचोड आउँछ सोही अनुसार अघि बढ्नुपर्ला ।’

प्राधिकरणले समयमा नै पोल नसार्दा भरतपुर केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको चार किलोमिटर सडक चार वर्ष वित्दा पनि अझै पूरा भएको छैन ।

यस्तो बन्ने छ ६ लेन सडक

५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली अन्डरग्राउन्ड गर्ने योजना छ ।

सडकको दायाँबायाँ ११.५/११.५ मिटरको पिच हुनेछ । त्यसको विचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुबैतिर हुनेछ । त्यसभन्दा पर ३ देखि ४ मिटरको फुटपाथ हुने सडक डिभिजन कार्यालय चितवनका प्रवक्ता खनालले बताए । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक-फरक रहेको छ । प्रवक्ता खनालका अनुसार पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग-अलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । वीचको भागमा हरियालीसहितका फूलहरु रोपिनेछ ।

कार्यालयका इन्जिनियर खनालले पछि फुटपाथ रहने ठाउँको तल तार भूमिगत गर्न दिइने बताए । सडकका दुवैतर्फ स्मार्ट लाइट रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment