Comments Add Comment

अफगानिस्तानमा बढ्दो हिंसाका बीच कोरोना खोप कार्यक्रम सुरु

११ फागुन, काठमाडौं । अफगानिस्तानमा मंगलबारबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । मंगलबार सुरक्षाकर्मीहरुलाई खोप दिँदै कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । पहिलो चरणमा अफगानिस्तानमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई कोरोना खोप दिइनेछ । यद्यपि मुलुकमा हिंसा बढिरहेको अवस्थामा यसले भने समस्या उत्पन्न गर्न सक्ने आशंका छ ।

भारतले अफगानिस्तानलाई सेरम इन्स्टिच्युटले उत्पादन गरेको पाँच लाख कोरोना खोप पठाएको थियो । सोही खोपबाट अफगानिस्तानमा खोप कार्यक्रम सुरु गरिएको हो । मंगलबार अफगानिस्तानका स्वास्थ्यमन्त्री वाहीद माजरोहले खोप कार्यक्रम सुरु गर्न पाउनु अफगानिस्तानको लागि सौभाग्यको दिन रहेको भन्दै मुलुकभर यो कार्यक्रम लागू गर्न भने समस्या रहेको बताए ।

अफगानिस्तानमा लामो समयदेखि सशस्त्र संघर्ष गर्दै आएको तालिबानले भने पनि सरकारले चलाउन लागेको कोरोना खोप कार्यक्रमको समर्थन गरेको छ । गत सेप्टेम्बरदेखि अफगानी सरकार र तालिबानबीच शान्ति वार्ता भइरहेको छ । तर, अहिलेसम्म यो वार्तामा कुनै प्रगति भने देखिएको छैन ।

अफगानी राष्ट्रपति असरफ घानीले मुलुकमा दोस्रो चरणमा ४० प्रतिशत मानिसलाई कोरोना खोप पुर्‍याउने प्रयास भइरहेको बताए । अफगानिस्तानमा अहिलेसम्म ५५ हजारभन्दा धेरै कोरेना संक्रमित फेला परेका छन् भने दुई हजार ४३५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment