Comments Add Comment

बालकको मृत्युबारे बुझ्न छानबिन टोली जुम्लामा

१२ फागुन, सुर्खेत । जुम्लामा १४ वर्षका बालकको मृत्युको घटनाबारे जानकारी लिन छानबिन टोली जुम्ला पुगेको छ । दुई साताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का पदम बुढाको मृत्यु भएको थियो ।

मृतकका आफन्तले प्रहरीको कुटाइबाट बुढाको मृत्यु भएको आरोप लगाउदै आएका छन् । तर, प्रहरीले भने अस्वीकार गर्दै आएको छ । सोही घटनाको छानबिन गर्न गृहमन्त्रालयका उपसचिव माधवप्रसाद ढुंगानाको संयोजकत्वको छानविन समिति जुम्ला पुगेको हो ।

टोलीले जुम्ला पुगेर छानविनको काम अघि बढाएको समितिका एक सदस्य कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद श्रेष्ठ जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले र सञ्चारकर्मीसंग छलफल गरिएको छ । अनुसन्धान नसकिँदासम्म टोली जुम्लामै बस्ने छ ।

टोलीले गहन रुपमा घटनाको सत्य तथ्य छानविन गर्ने समितिका संयोजक ढुंगानाले बताए । ‘हामीले घटनास्थलमै आएर अनुसन्धान थालेका छौं, सत्यतथ्य छानबिन हुन्छ’ उनले भने, ‘वास्तविक पीडितले न्याय पाउँछ ।’

छानविन टोलीमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीसमेत छन् । छानविन टोलीले घटनासंग जोडिएका सबै पक्षसंग छलफल तथा भेटघाटलाई तीब्रता दिएको जनाएको छ ।

बालकको मृत्युको विषयलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले गम्भीरतापूर्वक लिएको र त्यसै अनुसार गृहन्त्रालयले छानविन समिति बनाएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

प्रजिअ थापाका अनुसार प्रशासन र पीडितका आफन्तबीच तत्काल छानविन समिति गठन गर्ने, पीडितलाई राहत उपलब्ध गराउन पहल गर्ने र दोषीलाई कारवाही गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment