Comments Add Comment

नयाँ लेबल लगाएर दाल बेच्ने उद्योगीको गोदाम सिल

१२ फागुन, विराटनगर । पाँच वर्षअघि म्याद सकिएको रहरको दालमा नयाँ लेबर राखेर बिक्री गरेको पाइएपछि विराटनगरका एक उद्योगीको गोदाम सिल गरिएको छ ।
वाणिज्य कार्यालय विराटनगरको अनुगमन टोलीले लेबल परिवर्तन गरी भण्डारण र बिक्री गरेको पाइएपछि ३९ हजार ६ सय किलो दालसहित उद्योगी अभिनाश बोहराको घरमा रहेको गोदाम सिल गरेको छ ।

वाणिज्य कार्यालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीले नक्कली लेबल लगाएर बिक्रीका लागि पठाएको भेटेपछि बोहराको गोदाममा छापा मारेको थियो । सन् २०१३ मा प्याकेजिङ गरिएको दालको बोरामा नयाँ लेबलरहितको स्टिकर टाँस गरेको पाइएपछि गोदाम सिल गरी सप्लायर्सलाई तत्काल तीन लाख रुपैयाँ जरिवाना गरेको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

अफ्रिकी मुलुकबाट आयात गरिएको दालको बोरामा सन् २०१३ मा प्याकेजिङ भएको र सन् २०१५ मा म्याद सकिने उल्लेख छ । तर पुरानो म्याद मेटेर माथिबाट स्टिकर टाँसी नयाँ म्याद राखिएको छ । जसमा सन् २०२० मा प्याक गरिएको र उपभोग मिति सन् २०२२ सम्म रहेको उल्लेख छ ।

बोराको स्टिकर सहजै उक्काउन सकिन्छ । बजार अनुगमनका क्रममा लेबल परिवर्तन गरेको भेटिएपछि खोज्दै जाँदा सप्लायर्सको गोदामसम्म पुगिएको पोखरेलले बताए ।
रहरको दाल विराटनगर–८ स्थित जैसानी ट्रेड कन्सन्सले आयात गरेको थियो । ट्रेड कन्सन्सका सञ्चालक निखिल बोहरा हुन् । सप्लायर्सले पुरानो बोरा स्टक रहेकाले नयाँ लेबल राखेर सामाग्री पठाएको उनको दाबी छ । भन्सारबाट जाँचपास भएरै आएकाले दाल बिक्रीका लागि बजारमा पठाएको उनले बताए ।

लहरो तान्दा पहरो

बुधबार जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य र उपभोक्तासहितको टोली बजार अनुगमनका लागि निस्किएको थियो । अनुगमनका क्रममा विराटनगर–११ गुद्रीबजारमा रहेको ओमशान्ति किराना पसलमा ‘नतुर्ज तोर दाल प्रिमियम’को एउटा बोरा भेटियो । बोरामा पुरानो लेबल मेटेर नयाँ लेबल राखेको पाइएपछि अनुगमन टोलीले पसललाई तत्कालै पाँच हजार रुपैयाँ जरिवाना गर्याे । खुद्रा पसल मार्फत् अनुगमन टोली थोक बिक्रेता अनौखी ट्रेड एण्ड सप्लायर्समा पुग्यो । टोलीले सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना गर्याे ।

सप्लासर्यले बोहराले सञ्चालन गरेको जैसनी ट्रेड एण्ड कन्सन्सबाट सामाग्री ल्याएको बताएपछि अनुगमन टोली बोहराको गोदामसम्म पुगेको थियो । गोदाममा बोरामा प्याक गरिएको चार टन दाल बरामद भएको थियो । बोरामा प्याक गरिएको दालका सबै बोरामा पुरानो लेबल मेटेर नयाँ स्टिकर टाँसिएको छ ।

‘बजारमा लेबल परिवर्तन गरेको भेटिएपछि थोक बिक्रेता हुँदै गोदाम आउँदा बाटोमा एउटा गाडी जाँदै थियो,’ अनुगमन टोलीमा रहेका उपभोक्तावादी संस्था पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेलले भने, ‘गाडीमा सोही दाल देखिएपछि बजार हिँडेको गाडी रोक्यौं ।’

उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्था अनुसार प्याकेटमा लेबल परिवर्तन गर्न मिल्दैन । पोखरेलका पुरानो लेबलमाथि अर्काे लेबल लगाएर बिक्री गरेको पाइएकाले तत्काल तीन लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य कार्यालयका निमित्त प्रमुख पोखरेलले बताए । गोदामलाई सिल गरेर दालको गुणस्तरका लागि परीक्षण गर्न पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment