
१२ फागुन, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ११ करोड १० लाख नाघेको छ भने २४ लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
संक्रमित संख्याको आधारमा अमेरिका, भारत र ब्राजिल अगाडि छन् । कोरोना महामारी नियन्त्रणको लागि विश्वका धेरै मुलुकमा कोरोना खोप कार्यक्रम पनि सुरु भइसकेको छ ।
कहाँ कहाँ दिइँदैछ कोरोना खोप ?
विश्वका ९० मुलुकमा कोरोना खोप कार्यक्रम सञ्चालन भइरहेको छ । जसमध्ये ५७ उच्च आय भएका र ३३ मध्यम आय भएका मुलुक हुन् । अहिलेसम्म निम्न आय भएका मुलुकमा भने कोरोना खोप कार्यक्रम सुरु भएको छैन ।
अक्सफोर्ड युनिभर्सिटी र एक एजुकेसनल च्यारिटीको सहयोगमा तयार पारिएको तथ्यांकअनुसार अहिलेसम्म अमेरिका र चीनमा सबैभन्दा धेरै मानिसले कोरोना महामारीविरुद्धको खोप लगाएका छन् ।
अमेरिकामा ६ करोड ३० लाख र चीनमा ४ करोड १० लाख मानिसले कोरोना खोप लगाएका छन् । बेलायतमा एक करोड ८० लाखभन्दा धेरैले खोप लगाएका छन् ।
प्रति सय मानिसमा खोप लिनेको संख्या हिसाब गर्ने हो भने शीर्षस्थानमा इजरायल, यूएई र बेलायत छन् । अधिकांश मुलुकमा ६० वर्षभन्दा बढी उमेरका मानिस, स्वास्थ्यकर्मी र बढी जोखिममा भएकाहरु खोपको प्राथमिकतामा छन् ।
केही मुलुकले आवश्यकताभन्दा धेरै खोपको व्यवस्था गरेका छन् । यद्यपि निम्न आय भएका मुलुक भने विश्व स्वास्थ्य संगठन (डब्लएचओ) को कोभ्याक्स कार्यक्रमको आशामा छन् । विश्वभर कोरोना खोप पुर्याउने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको हो ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले यो खोप सबैलाई जरुरी रहेको भन्दै सबैलाई खोप पुर्याउनुपर्नेमा जोड दिँदै आएका छन् । उनले विश्वका सबै मुलुकबाट यो महामारी नहटेसम्म महामारीको अन्त्य नहुने पनि बताएका छन् ।
कहाँ छ धेरै संक्रमण ?
खोप लगाउन थालेपछि विश्वका धेरै देशमा कोरोना संक्रमण पनि घट्दो क्रममा छ । यहाँ क्षेत्रगतरुपमा कोरोना संक्रमणको अवस्था उल्लेख गरिएको छ –
युरोप
अधिकांश युरोपेली मुलुकमा कोरोना संक्रमण घट्दो क्रममा देखिएको छ । तर फ्रान्स, रुस, बेलायत, इटाली र स्पेनमा पछिल्लो साता कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ ।
उत्तर अमेरिका
उत्तर अमेरिका कोरोना संक्रमणबाट बढी प्रभावित क्षेत्र हो । यहाँ अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । गत जनवरीको सुरुआतमा यहाँको संक्रमण अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो । तर, पछिल्लो केही समययता भने नयाँ संक्रमण घटेको छ ।
क्यानडाको तुलनामा अमेरिकामा मृत्यु हुनेको संख्या निकै कम छ । जाडोयाममा क्यानडामा कोरोना संक्रमण बढेको थियो । तर, अहिले भने यहाँ संक्रमणमा कमी आइरहेको छ ।
एसिया
सन् २०२० को सुरुआतमा चीनमा तीव्र गतिमा कोरोना संक्रमण फैलिएको थियो । त्यसपछि विस्तारै भारतलगायतका मुलुकमा यसको संक्रमण फैलिएको थियो । यद्यपि पछिल्लो समय एसियाका अधिकांश मुलुकमा कोरोना संक्रमणमा कमी देखिएको छ ।
मध्यपूर्व
मध्यपूर्वका देशमध्ये केही समययता इजरायलमा संक्रमण घटेको छ । तर, इरानलगायतका अन्य मुलुकमा भने संक्रमण बढ्दो क्रममा छ । खोप कार्यक्रमको कारण इजरायलमा संक्रमणमा कमी आएको हो । अहिलेसम्म इजरायलमा ७० लाख मानिसहरुले खोप लगाइसकेका छन् ।
अफ्रिका
अफ्रिकामा अन्य क्षेत्रको तुलनामा पर्याप्त मात्रामा कोरोना परीक्षण हुन सकेको छैन । त्यसैले पनि अहिले सार्वजनिक गरिएको तथ्यांकमा विश्लेषकहरुले आशंका व्यक्त गर्दै आएका छन् । दक्षिण अफ्रिकामा अहिलेसम्म १५ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने मोरक्को, इथियोपिया, ट्युनिसिया, लिबिया, अल्जेरिया, नाइजेरिया र केन्यामा पनि एक लाखभन्दा धेरै संक्रमित फेला परेका छन् ।
अफ्रिकी मुलुकले अन्य मुलुकजस्तो सहजै कोरोना खोप पाउन सकेका छैनन् । यसलाई भने विशेषज्ञहरुले अन्यायपूर्ण भन्दै आएका छन् ।
ल्याटिन अमेरिका
ल्याटिन अमेरिकामा पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) चिन्ताको विषय बनेको छ । ब्राजिलमा कोरोनाको नयाँ प्रकार निकै तीव्र गतिमा फैलिरहेको छ । ब्राजिलमा एक करोडभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । अर्जेन्टिना, कोलम्बिया, मेक्सिको र पेरुमा पनि १० लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
ओसिनिया
अष्ट्रेलिया र न्युजिल्याण्डले कोरोना संक्रमण नियन्त्रणको लागि गरेको प्रयासको कारण यी मुलुकले प्रशंसा पाएका थिए । यी मुलुक कोरोना संक्रमण नियन्त्रणका लागि पनि सफल भएका थिए । सोमबारदेखि अष्ट्रेलियाले खोप कार्यक्रम सुरु गरेको छ । पहिलो साता ६० हजार डोज कोरोना खोप लगाउने लक्ष्य अष्ट्रेलियाको छ ।
प्रतिक्रिया 4