Comments Add Comment

आईपीओको नतिजा सञ्चारमाध्यममा प्रकाशन गर्न रोक

१३ फागुन, काठमाडौं । सञ्चार माध्यमले आईपीओ निष्काशनको नतिजा प्रकाशन गर्न नपाउने भएका छन् । धितोपत्र बोर्डको निर्देशनमा तत्काल लागू हुने गरी सीडीएससीले यस्तो नतिजा सञ्चार माध्यमलाई प्रकाशन गर्न रोक लगाएको हो ।

सञ्चार माध्यममा आईपीओ निष्काशनको नतिजा प्रकाशित गर्न दिन नहुने भन्दै धितोपत्र बोर्डमा लगानीकर्ता संघ संस्थाहरुबाट उजुरी परेको बोर्डले जनाएको छ ।

धेरै लगानीकर्ता र लगानीकर्ता संघ संस्थाको उजुरी पछि सञ्चार माध्यममलाई नतिजा प्रकाशन गर्न नदिने निर्णय भएको बोर्डका साहायक सूचना अधिकारी रुपेश केसीले अनलाइनखबरलाई बताए ।

‘धितोपत्र बोर्डको निर्देशनमा सीडीएसीले यो कामको थालनी गरेको छ, शुक्रबारको आईपीओ नतिजामै यो कार्यन्वयनमा आउँछ,’ केसीले भने । आईपीओको नतिजाको गोपनियता नभएको गुनासोपछि यस्तो व्यवस्था गरिएको पनि बोर्डले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार सीडीएससीको मेरोसेयर, सम्बन्धित निष्काशन कम्पनी र बिक्री प्रबन्धकबाट मात्रै नतिजा हेर्न पाइने छ । शुक्रबार सार्वजनिक हुने महिला लघुवित्त कम्पनीको आईपीओको नतिजा पनि अब सञ्चारमाध्यमले प्रकाशन गर्न पाउने छैनन् ।

लगानीकर्ताको विवरण विवरण सञ्चार माध्यममलाई दिँदा गोपनीयता भंग हुने बारे आफूहरुले बोर्डलाई जानकारी गराएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले बताइन् ।

‘विभिन्न चरणमा बोर्डसँग भएको छलफलमा बजारका समस्याहरु के के छन् भन्ने जिज्ञाशामा हामीले यो कुरा उठाएका थियौं । अहिले कार्यन्वयनमा आएको छ,’ अध्यक्ष पोख्रेलले भनिन् । लगानीकर्ताको सूचनाहरु बोर्डले नै सुरक्षित ढंगले प्रस्तुतीकरण गर्नु पर्नेमा आफूहरुले जोड दिएको पनि उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment