Comments Add Comment

‘गोल्डेन एथ्लेटिक्स मिट’ फागुन २९ मा हुने

१३ फागुन, काठमाडौं । यही फागुन २९ गते राजधानीमा गोल्डेन एथ्लेटिक्स मिट २०२१ आयोजना हुने भएको छ ।

काठमाडौं जिल्ला एथ्लेटिक्स संघ, ललितपुर जिल्ला एथ्लेटिक्स संघ र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजना तथा प्रो स्पोर्ट्स प्रालिको संयोजकत्वमा एथलेटिक्स मिट हुन लागेको हो ।

एथ्लेटिक्स मिटमा सिनियरतर्फ महिला र पुरुषको ५ इभेन्ट समावेश हुनेछ भने जुनियर तर्फ ३ इभेन्ट समावेश रहेको आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

मिटमा सिनियरतर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, ८ सय मिटर र तीन हजार मिटर दौड समावेश छ । यस्तै जुनियरतर्फ एक सय मिटर, चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ७ हजार, ५ हजार र ३ हजार पुरस्कार, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस प्रतियोगितमा विभागीय टिमका खेलाडीका साथै अन्य निकायका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने पनि आयोजकले जनाएको छ । यस्तै प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख  रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

तीन जिल्लाको एथ्लेटिक्स संघ मिलेर पहिलो पटक यो प्रतियोगिता गर्न लागेको हो । यसअघि गोल्डेन स्प्रिन्टको नामबाट यो प्रतियोगिता भएको थियो । तर निरन्तरता पाउन सकेको थिएन । पछिल्लो समयमा म्याराथन धेरै हुन थालेकोछ ।

यस्तै सन्दर्भमा स्प्रिन्टको धावकहरुलाई ध्यान दिँदै गोल्डेन एथ्लेटिक्स मिट गर्न लागेको काठमाडौं जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष मन्जु श्रेष्ठले जानकारी दिइन् । लामो समय यसै क्षेत्रमा लागेकोले केही गरौँ भन्ने उदेश्यका साथ तीन जिल्ला मिलेर प्रतियोगिता आयोजना गर्न लागेको उनले बताइन् ।

‘स्प्रिन्टको गेम नभएकोले तीन जिल्ला मिलेर केही रकम पुरस्कार राखेर भएपनि एथ्लेटिक्स मिट गर्न लागेका छौँ ।’ श्रेष्ठले भनिन्, ‘हामीले पहिलो पटक गर्न लागेको भएर थोरै पुरस्कार छ । अब हरेक वर्ष गर्ने उदेश्यका साथ स्प्रिन्ट र ३ किलोमिटर दूरीको विधा समावेश गरेका छौँ ।’

प्रतियोगितामा सिनियरका साथै जुनियर खेलाडीहरुले पनि भाग लिनेछन् । जसले गर्दा नयाँ खेलाडीहरुको लागि समेत यो अवसर भएको बताए । खुल्ला प्रतिस्पर्धा भएकोले अन्तर्राष्ट्रिय स्तरमा दौडिसकेका खेलाडीले पनि यसमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

गोल्डेन एथ्लेटिक्स मिटका प्रतिस्पर्धाहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment