Comments Add Comment

साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा महिलाले गरिन् आत्महत्या

१५ फागुन, जनकपुरधाम । धनुषाको औरहीमा साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा एक महिलाले आत्महत्या गरेकी छन् । औरही नगरपालिका-२ का विनिता यादवसहितका तीनजना महिलालाई वडाध्यक्षकै अगुवाइमा बसेको पञ्चायतीले साग टिपेको विवादमा जरिवाना तोकेको थियो ।

तीमध्ये विनिताले जरिवाना तोकेको केही घण्टामै शुक्रबार आत्महत्या गरेकी हुन् । विनिता बिहीबार आफ्ना तीनजना साथीसहित घाँस काट्न नजिकैको खेतमा गएकी थिइन् । घाँस काट्न गएका बेला एक महिलाले आफूले उब्जाएको साग टिपेको भन्दै गालीगलौज गरेपछि उनीहरुबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि त्यसलाई मिलाउन भन्दै वडाध्यक्ष अमित यादवको अगुवाइमा बसेको पञ्चायतीले विनितालाई ५ हजार रुपैयाँ जरिवाना सुनायो भने उनीसँगै गएका सुमित्रा देवी र बबितालाई २५ सयका दरले जरिवाना सुनाएको थियो ।

तर पञ्चायतीले निर्णय सुनाएको केही घण्टामै विनिताले आफ्नो घरको पंखामा पासो लगाएर आत्महत्या गरेको बताइएको छ । प्रहरीका अनुसार विनिताले आत्महत्या गरेको कारण पञ्चायती हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी मुकेन्द्रकुमार मिश्रले यस विषयमा जानकारी नआएको बताए ।

ससुराले जाहेरी दिएको तर जाहेरीमा त्यस्तो केही उल्लेख नरहेको मिश्रले बताए । ‘श्रीमान् विदेशमा भएको अवस्थामा केही पीर परेर आत्महत्या गरेको भन्ने कुरा उनको ससुराले बताएका छन्’ मिश्रले भने, ‘बाँकी हामीले अनुसन्धान गरिरहेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment