Comments Add Comment

राष्ट्रसंघका लागि म्यानमारका राजदूत बर्खास्त, सैनिक शासकविरुद्ध अभिव्यक्ति दिएको आरोप

१६ फागुन, काठमाडौं । म्यानमारको सैनिक शासकले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूतलाई बर्खास्त गरेको छ । राष्ट्रसंघको महासभामा सैन्य ‘कू’को विरोध गर्दै उनले तत्काल अन्तर्राष्ट्रिय कारबाही गर्न माग गरेका थिए ।

म्यानमारको राष्ट्रिय टेलिभिजन च्यानलले शनिबार राजदूत बर्खास्तीबारे समाचार सार्वजनिक गरेको हो । सेनाले भनेको छ, ‘संयुक्त राष्ट्रसंघमा म्यानमारका राजदूतले देशलाई धोका दिएका छन् र आफूलाई अनाधिकारिक संस्थाको प्रतिनिधि बताएका छन् जो कि म्यानमार देशको प्रतिनिधित्व गर्दैनन् । उनले राजदूतको शक्ति र जिम्मेवारीलाई गलत प्रयोग गरेका छन् ।’

यही फेब्रुअरी एक तारिखमा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीलगायतलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । सैनिक ‘कू’को विरोधमा म्यानमारमा ठूला प्रदर्शनहरु हुँदै आएका छन् । विश्व समुदायबाट पनि म्यानमारको सैनिक नेतृत्वको आलोचना हुँदै आएको छ।

यसैबीच म्यानमारको नवगठित संघीय निर्वाचन आयोग (यूईसी) ले राजनीतिक दलका प्रतिनिधिहरूसँग पछिल्लो निर्वाचन प्रक्रियाबारे छलफल गरेको त्यहाँका राज्य सञ्चालित सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आयोगले यही फेब्रुअरी ५ तारिखदेखि गत वर्षको निर्वाचन परिणामबारे उठाइएका विषयहरूलाई समीक्षा गरिरहेको बताएको छ । आयोगले निर्वाचनबारे उठेका अनियमितताका मुद्दालाई सम्पन्न गरी मतदाताको नयाँ सूची तयार गर्ने र संविधानिक व्यवस्था बमोजिम स्वच्छ तथा स्वतन्त्र नयाँ निर्वाचन गर्ने बताएको छ ।

सेनाको निकट मानिने जुन्ता पार्टीले अनपेक्षित पराजयपछि निर्वाचनमा एनएलडीले धाँधली गरेको आरोप लगाउँदै आएको छ ।

सन् २०२० को नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सुकीको एनएलडी पार्टीलाई स्पष्ट दुई तिहाइ बहुमत आएको र निर्वाचन कानून अनुसार यही फेब्रुअरी २ देखि नयाँ संसद बैठक बोलाइएको थियो । नयाँ संसद चालु हुनुभन्दा एक दिन पहिल्यै सेनाले सरकारको नेतृत्व आफ्नो हातमा लिई एक वर्षे संकटकाल घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment