Comments Add Comment

अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले

१६ फागुन, काठमाडौं । अनलाइनखबर डट कमको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् ।

अनलाइनखबर नेपाल प्रा.लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै प्रा.लि.ले सम्पादक अरुण बरालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

अध्यक्ष धर्मराज भुसालले आइतबार कार्यालयमा आयोजित एक समारोहका बीच गाउँलेलाई स्वागत गरे । अनलाइन पत्रकारिता अब मूलधार बनिसकेको भन्दै अध्यक्ष भुसालले गाउँलेको सम्पादकीय नेतृत्वमा अनलाइनखबरले अझै उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त प्रधानसम्पादक गाउँलेले अनलाइनखबरको सन्तुलित र न्यायपूर्ण पत्रकारितालाई निरन्तरता दिइने बताए । उनले भने, ‘सत्ता र शक्तिसँग प्रश्न गर्छौं । गडबडी, भेदभाव र अन्याय सधैं हाम्रा कभर स्टोरी हुुनेछन् ।’

तीन दशकदेखि पत्रकारितामा सक्रिय गाउँले पछिल्लो ६ वर्ष खोज पत्रकारिता केन्द्रको सम्पादक थिए । हिमाल खबरपत्रिकाको सम्पादकीय नेतृत्व गरिसकेका गाउँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

सम्पादक बरालको बिदाइ

सम्पादक अरुण बराललाई बिदाइ गर्दै अध्यक्ष धर्मराज भुसाल । बीचमा नवनियुक्त प्रधानसम्पादक शिव गाउँले ।

यसैवीच अनलाइनखबरका सम्पादक अरुण बराललाई बिदाइ गरिएको छ । संस्थाका अध्यक्ष भुसालले ८ वर्षसम्म न्यूजरुमलाई नेतृत्व प्रदान गरेकोमा बराललाई धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।

निवर्तमान सम्पादक बरालले नेपालको नम्बर एक अनलाइनलाई लामो समय नेतृत्व गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै नयाँ अनुभवी र वरिष्ठ सञ्चारकर्मीलाई कार्यभार हस्तान्तरण गर्न पाउनु सुखद भएको बताए ।

कार्यक्रममा अनलाइनखबर डटकमका कार्यकारी निर्देशक सुरेश भुसाल एवं सम्पादकीय सहकर्मीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment