२६ कात्तिक, प्युठान । ढोल–मादलको तालमा तरबार उचाल्दै गाउँलेहरू ‘वाख्यै… वाख्यै…’ भन्दै नाचिरहेका थिए । कसैको गलामा फूलको माला थियो, कसैको हातमा तरबार ।
भाइटीकाको भोलिपल्ट प्यूठान नगरपालिका–७, पुण्यखोलामा देखिएको यो दृश्य पुस्तौँ पुरानो ‘डल्ले सराय नाच’को निरन्तरता थियो । स्थानीयको सामूहिक सहभागितामा यस वर्ष पनि परम्परागत नाच उल्लासका साथ सम्पन्न भयो ।
डल्ले सराय प्यूठानको सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक परम्परा हो । यसको उत्पत्तिबारे लिखित इतिहास उपलब्ध छैन । तर, स्थानीय लोककथाले यसलाई एउटा साहसिक घटनासँग जोड्छ ।
लोककथा अनुसार, कुनै समय गाउँमा मानवरूपी राक्षसको आतंक थियो । उसले बर्सेनि एक जना गाउँलेको मासु खाने गथ्र्यो । गाउँलाई त्यसको आतंकबाट मुक्त गराउन एक साहसी युवकले आफ्ना बाबुको सट्टा आफू राक्षसको वासस्थानमा पुगेर उसको वध गरेको जनविश्वास छ ।
त्यसपछि चार गाउँका बासिन्दाले तरबार बोकेर ‘वाख्यै… वाख्यै…’ भन्दै खुसीयाली मनाएको घटनालाई डल्ले सराय नाचको उत्पत्तिसँग जोड्ने गरिएको छ ।
नाचमा युवा तथा अधबैंसे पुरुष सहभागी हुन्छन् । गाउँका दिदीबहिनीले लगाइदिएको फूलको माला पहिरिएर उनीहरू परम्परागत भेषभूषामा नाच्छन् ।
ढोल–मादलको ताल, तरबारको प्रदर्शन र सामूहिक सहभागिताले नाचलाई विशिष्ट बनाउँछ । मनोरञ्जनसँगै यसले स्थानीय समुदायको सांस्कृतिक स्मृति र पुस्तान्तरणको अभ्यासलाई पनि निरन्तरता दिँदै आएको छ ।
स्थानीय लोकश्रुतिअनुसार डल्ले सराय नाच तेह्रौँ शताब्दीको अन्त्यतिरदेखि प्रचलनमा रहेको मानिन्छ । ऐतिहासिक अभिलेख भने उपलब्ध छैन । पछिल्ला वर्षहरूमा यस नाचलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्ने परम्परा भने २०७० सालमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको पहलमा सुरु भएको हो ।
यस वर्षको प्रतियोगितामा सात समूह सहभागी भए । खैरा समूह प्रथम, सापडाँडा समूह द्वितीय र पाण्डेडाँडा सराय समूह तृतीय भए ।
आयोजक प्यूठान नगरपालिकाले विजेता समूहलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा सहभागी अन्य समूहलाई पनि प्रोत्साहनस्वरूप २० हजार रुपैयाँका दरले पुरस्कार दिइएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले डल्ले सराय नाचको संरक्षण र प्रवद्र्धनका लागि हरेक वर्ष पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । नाचलाई स्थानीय पाठ्यक्रममा समेत समावेश गरिएको छ । यसलाई सांस्कृतिक पर्यटनको आकर्षणका रूपमा विकास गर्ने नगरपालिकाको नीति रहेको श्रेष्ठले बताए ।
भाइटीकाको भोलिपल्ट दिनभर पुण्यखोलामा गुञ्जिएको ‘वाख्यै… वाख्यै…’ साँझसँगै शान्त भयो ।
तर, स्थानीय किंवदन्ती, सामूहिक उत्सव र पुस्तौँको अभ्याससँग जोडिएको डल्ले सरायले प्यूठानको मौलिक सांस्कृतिक पहिचानलाई अझै जीवन्त राखेको छ ।
प्रतिक्रिया 4