Comments Add Comment

प्रधानमन्त्रीले सांसद हटाउने कुरा झूट र भ्रमपूर्ण : भीम रावल

१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले ह्वीप नमान्ने समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण रहेको बताए । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको ह्विप नमान्नेलाई कारबाही हुने बताएका थिए । सोही भनाइतर्फ संकेत गर्दै नेता रावलले संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले लगाएको ह्वीप मान्नु नपर्ने बताए । त्यसरी निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको उनको भनाइ छ । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि उनले बताए ।

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वत: आधिकारिक पार्टी रहेको उनको भनाइ छ । निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment