Comments Add Comment

पोखरामा चैत दोस्रो साता फुटसल प्रतियोगिता हुने, विजेतालाई ३ लाख पुरस्कार

पोखरा, १६ फागुन । राजन ब्रदरहुड र स्पोर्टस् क्यासलको आयोजनामा आगामी चैतमा नेपालकै ठूलो पुरस्कार राशीको खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।
आगामी चैत १० देखि १२ गतेसम्म पोखरा महानगरपालिका-४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘प्रथम राजन खुल्ला फुटसल प्रतियोगिता २०७७’ आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिता संयोजक राजन गुरुङले फुटबलसँगै फुटसलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले उक्त प्रतियोगिता नेपालकै ठूलो पुरस्कार राशीको फुटसल रहेको भन्दै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ३ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमलाई १ लाख ५० हजार प्रदान गरिनेछ ।

गुरुङले उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट बन्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने बताए । उनका अनुसार विधागततर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा विभिन्न जिल्लाका क्लबसहित भारतका केही क्लबसँग पनि प्रारम्भिक कुरा भइरहेको उनले जानकारी दिए । उक्त फुटसल प्रतियोगितामा देशभरबाट ३० भन्दा बढी टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment