
कोरोना भाइरसका कारणले होस् या अन्य विभिन्न कारणले नै किन नहोस्, नेपालका केही प्रतिशत हलहरु सधैका लागि बन्द हुने अवस्थामा पुगेका छन् । मोफसलका सिंगल हलहरुको अवस्था कमजोर भएको र केही हलहरु बन्द भैसकेको चलचित्र संघले जनाएको छ ।
काठमाण्डौको सर्वाधिक दर्शकको चाप रहने गोपिकृष्ण मुभिजका ३ पर्दा रहेका भवन भत्काइएको छ । यो स्थानमा २५ तलाको मल बन्दैछ । जसमा, ३ वटा पर्दाको मल्टिप्लेक्स हल पनि संचालनमा आउनेछ । यसका लागि ३ बर्ष पर्खिनुपर्नेछ ।
यसैविच, काठमाण्डौको जय नेपाल हल भने सधैका लागि बन्द भएको छ । काठमाण्डौको हात्तीसारमा रहेको जय नेपाल हल सधैका लागि बन्द भएको हो । क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा लिजमा लिएर यो हल २० बर्षदेखि संचालन गर्दै आएको थियो ।
क्वेष्टले लिजमा लिएको जग्गाको संझौता नविकरण गर्ने सोच गतबर्ष नै बनाएको थियो । क्वेष्ट इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले अनलाइनखबरसँग भने–‘अब, हल मात्र चलाउन सकिने अवस्था छैन । सपिङ मल नभएको ठाउँमा हल चलाउन गाह्रो पनि पर्ने अवस्था आयो, अर्कोतिर हामीले लिजमा लिएको जग्गा नविकरण गर्ने सोच पनि बनाएनौ । यसैले, अहिले हलका सामानहरु पनि विक्री गरिरहेका छौं ।’ नकिमले विरगञ्जमा क्यूएफएक्स चेन अन्र्तगतको नयाँ हल खोल्ने तयारी गरिएको पनि जानकारी दिएका छन् ।
जय नेपालमा हलमा ४ सय भन्दा बढी सिट क्षमताको एकल पर्दा थियो । जसमा नेपाली र विदेशी चलचित्रले राम्रो व्यापार गरेका उदाहरण छन् ।
प्रतिक्रिया 4