Comments Add Comment

एसियन महिला भलिबल च्याम्पियनसिप : नेपाललाई ठूलो अवसर

१९ फागुन, काठमाडौं । आउँदो अगष्ट-सेप्टेम्बर महिनामा चीनको जियाङमेनमा हुने २१ औं सिनियर वुमन्स भलिबल च्याम्पियनसिपका लिग छनोट भएपछि नेपाली भलिबल क्षेत्र उत्सहित छ । उक्त प्रतियोगितामा नेपालले एसियन पावरहाउस जापान, चीन, कोरिया, थाइल्याण्डजस्ता टिमसँग प्रतिस्पर्धा गर्न पाउनेछ ।

गत वर्ष बंगलादेशमा भएको पहिलो महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको विजेता बनेको र काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा रजत जितेपछि नेपालले यो अवसर पाएको हो ।

गत वर्षका यी दुई ठूला प्रतियोगितामा निकालेको नतिजाका आधारमा नेपाल भलिबल संघले महिला टिमलाई च्याम्पियनसिप खेल्न पठाउने निर्णय गरेको थियो र त्यसलाई एसियन भलिबल कन्फ्रेडेरेसनले स्वीकार गरेपछि नेपाल छनोट भएको थियो ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन शर्माले खेलाडीको मिहिनेत र भाग्यले गर्दा यो अवसर पाएको बताए । ‘एसियाको १६ टिमभित्र पर्ने भाग्यको कुरा हो । राम्रो प्रदर्शन गरेर नेपालको इज्जत राख्न सक्नुपर्छ,’ शर्माले अनलाइनखबरसँग भने ।

राष्ट्रिय टिमकी मुख्य स्पाइकर प्रतिभा मालीले पनि यो प्रतियोगितालाई लिएर आफूहरु उत्साहित भएको बताइन् । ‘एकदमै उत्साहित छौँ । एकदमै महत्वपूर्ण टुर्नामेन्ट हो,’ मालीले अनलाइनखबरसँग भनिन्, ‘किनकी नेपाली महिला भलिबल टिमले एसिएन च्याम्पियनसिप अहिलेसम्म खेलेको छैन ।’

दक्षिण एसियाली स्तरमा मात्र खेल्दै आएको नेपालले गत एभीसी सिनियर महिला सेन्ट्रल  भलिबल च्याम्पियनसिपमा सहभागी भएर दक्षिण एसिया बाहिर पुग्यो ।

अहिले एसियन च्याम्पियनसिपमा छनोट हुनुले नेपाली भलिबल अझै ठूलो क्षेत्रमा फैलिनु हो । ‘यसअघि जहिले पनि भन्थ्यौँ सागमा मात्र खेलेर भएन । अरु ठूला ठूला टुर्नामेन्ट खेल्नुपर्‍यो। हाम्रो टिम अहिले नयाँ जस्तै छ । योङ टिम छ । त्यसैले यस्तो प्रतियोगिता खेल्दा अनुभव र एक्सपोजर पाउँछौँ’ मालीले भनिन् ।

एसियन च्याम्पियनसिप प्रतियोगिता सुरु हुन ६ महिना बाँकी छ । भलिबल संघले आगामी वैशाखमा प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ । ‘राष्ट्रिय खेलकुद परिषदले पैसा दिनुपर्‍यो ट्रेनिङका लागि । पैसा भएपछि हामी ट्रेनिङ सुरु गर्छौँ’ संघका अध्यक्ष शर्माले भने ।

गत वर्ष १३ औं साग खेलेयता नेपाली भलिबल टिमले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यसैले खेलाडीहरु पनि छिटो प्रशिक्षण सुरु होस् भन्ने आशामा छन् । राम्रो प्रशिक्षण भएमा खेलाडीले नतिजा राम्रो दिन सक्ने माली बताउँछिन् ।

संघले यस प्रतियोगिताका लागि गर्ने प्रशिक्षणमा पहिलो चरणमा ३० खेलाडीलाई बोलाउने तयारी गरेको छ । यसअघि २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिन्थ्यो । भलिबल संघले आउँदो चैतमा क्लब लिग आयोजना गर्ने तयारी गरेको छ र त्यस प्रतियोगिताबाट छानिएका खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

भलिबल संघले विदेशी प्रशिक्षक पनि ल्याउने तयारी गरेको छ । नेपालमै भएको एभिसी सेन्ट्रल जोन प्रतियोगितामा पुरुष टिमको प्रशिक्षक रहेका नेदरल्याण्ड्सका हान अबिङलाई नै महिला टिमको प्रशिक्षण जिम्मा लगाउने पनि तयारी छ । यद्यपि भलिबल संघले औपचारिक रुपमा यसबारे केही भनेको छैन ।

गत वर्ष माघ माघमा भएको एनभीए लिग च्याम्पियनसिपका क्रममा घाइते भएकी प्रतिभाले पोखरामा भएको टाइगर कपमार्फत भलिबल कोर्टमा पुनरागमन गरेकी छिन् । त्यसअघि उनले मैत्रीपूर्ण खेल समेत खेलिन् । ‘म इन्जर्ड छु त्यसले गेमलाई असर पार्ला भन्ने मनमा छैन । तर अझै मैले मज्जाले ट्रेनिङ गरेको छैन,’ मालीले भनिन् ।

अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म चीनमा हुने च्याम्पियनसिपमा नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यस च्याम्पियनसिप सन् २०२२ को एफआईभिबी भलिबल वुमन्स वर्ल्ड च्याम्पियनसिपको छनोटको रुपमा समेत रहेको छ ।

वेष्ट जोन र इस्ट जोनबाट कुनै पनि टिम सहभागी नभएकोले नेपालसहित श्रीलंका र उज्वेकिस्तान सेन्ट्रल जोनबाट च्याम्पियनसिपका लागि छनोट भएका हुन् । यस्तै ओसियाना जोनबाट न्युजिल्याण्ड र साउथ इस्ट जोनबाट भियतनाम छनोट भएका छन् । चीन आयोजकको नाताले सिधै छनोट भयो भने अन्य १० राष्ट्र भने २०१९ मा भएको एसियन च्याम्पियनसिपमा पर्न सफल टिम हुन् । जसमा चीन सिधै छनोट भएकोले हङकङ चीनको सट्टामा छनोट भएको हो ।

यसबाहेक थाइल्याण्ड, दक्षिण कोरिया, कजाखस्तान, चाइनिज ताईपेइ, इरान, इन्डोनेसिया, अष्ट्रेलिया, भारत सिधै छनोट हुने टिम हुन् ।

२०१९ मा भएको यस प्रतियोगिताको २० औं संस्करणमा १३ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा श्रीलंका र न्युजिल्याण्ड पनि सहभागी थिए ।

नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता इतिहास

२०३७ सालदेखि नेपालमा महिला भलिबल खेल औपचारिक रुपमा सुरु भएको हो । त्यसको ७ वर्षपछि मात्र नेपालले अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर पायो ।

सन् १९८७ मा थाइल्याण्डसंग मेत्रीपूर्ण खेल खेल्दै नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय स्तरमा पाइला टेकेको हो । तर पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भने सन् १९९८ मा श्रीलंकामा भएको रुपा बाहिनी अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता थियो । त्यसको अर्को वर्ष नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले प्रतिस्पर्धा गर्‍यो ।जसमा कास्य जितेको थियो ।

यस्तै २००६ मा श्रीलंकामा भएको १० औं साग र २०१६ मा भारतमा भएको १२ औं सागमा पनि कास्य जितेको नेपालले २०१९ मा नेपालमै भएको १३औं  सागमा पहिलो पटक रजत जितेको हो ।

यसबाहेक नेपालले सन् २०१४ मा काठमाडौंमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण वुमन्स भलिबल च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो ।

२०१७ मा नेपालले माल्दिभ्समा वुमन्स वर्ल्ड एसियन सेन्ट्रल जोन क्वालिफायर खेलेको थियो । जसमा नेपालले माल्दिभ्सलाई हराएपनि इरानसंग पराजित हुँदै अघिल्लो चरणमा पुग्न सकेन ।

नेपाली महिला भलिबल टोलीले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता

  • १९९८ – रूपा बाहिनी अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता, श्रीलंका
  • १९९९ – आठौं दक्षिण एसियाली खेलकुद (साग), नेपाल
  • २००६ – १० औं दक्षिण एसियाली खेलकुद (साग), श्रीलंका
  • २०१४ – प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिप, नेपाल
  • २०१६ – १२ औं दक्षिण एसियाली खेलकुद (साग), भारत
  • २०१७ – वुमन्स वर्ल्ड एसियन सेन्ट्रल जोन क्वालिफायर, माल्दिभ्स
  • २०१९ – प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिप, बंगलादेश
  • २०१९ – १३ औं दक्षिण एसियाली खेलकुद (साग), नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment