Comments Add Comment
अन्तरवार्ता :

‘देश र जनतालाई केन्द्रमा राखेर गरिने वार्ता छिटो निष्कर्षमा पुग्ने रहेछ’

२० फागुन, काठमाडौं । संसदीय प्रणालीविरुद्ध एकीकृत क्रान्तिको एजेण्डा लिएर सशस्त्र गतिविधि गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा फर्किएको छ ।

सरकारी वार्ता टोलीका सदस्य एवम् प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यो सहमतिलाई सरकारी प्रयासको महत्वपूर्ण कडीको रुपमा लिएका छन् । उनी भन्छन्, ‘सबैखाले शक्तिहरुलाई एकताबद्ध गराउँदै मुलुकको राष्ट्रियता, लोकतन्त्र र सामाजिक रुपान्तरणको बाटोमा एकताबद्ध भएर जाने वर्तमान सरकारको प्रयास हो, त्यो प्रयासको सफलताको महत्वपूर्ण कडीका रुपमा यसलाई लिएका छौं ।’

तर, चन्दसँग सत्ता सहकार्य र पार्टी एकतासम्मको अनुमानबारे भने प्रतिक्रिया दिनु हतारो हुने उनी बताउँछन् ।

वार्तामा सरकार र विप्लव समूहबीच सहमति जुटेपछि भट्टराईसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

वार्ता समिति बनेको तीन दिन नहुँदै एकाएक सहमति कसरी संभव भयो ?

सहमति भयो । तीन बुँदे सहमति भएको छ । यसको विस्तृत विवरण भोलि समारोहबीच सार्वजनिक गर्नेछौं । अहिले यति भनौ सहमति भएको छ ।

यो नतिजा अनपेक्षित थियो कि अपेक्षित नै हो ?

अपेक्षित नै थियो । लामो तयारी गरेका थियौं । वार्ता सफल पार्नका लागि त्यसको तयारीको ‘फेज’ हुन्छ । त्यो तयारीको क्रममा हामीहरुबीच सैद्धान्तिक र राजनीतिक रुपमा सहमति जस्तो बनाएपछि वार्तामा बसेका थियौं । त्यसकारणले मुलुक र जनतालाई केन्द्रभागमा राखेर गरिने सहमतिहरु छिटो निष्कर्षमा पुग्न सक्ने रहेछ । अरु गलत उद्देश्यहरु नभएपछि राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर सहमतिमा छिटो पुग्न सकिन्छ भन्ने उदाहरण यो सहमतिले पनि देखाएको छ ।

पहिले नै सहमति जुटेर औपचारिकताका लागि वार्तामा बस्नुभएको थियो कि वार्ताकै क्रममा सहमति जुटेको हो ?

सहमति जुटेर होइन । अनौपचारिक सम्वादहरु भएका थिए, तर सहमतिका लागि त फेरि हामी बसेकै हौं । औपचारिक रुपमा बसेर सहमति जुटाइएको हो ।

सहमतिको अन्तरवस्तु भोलि सार्वजनिक हुन्छ भन्नुभयो, उहाँ (विप्लव) हरुले सशस्त्र आन्दोलन (हिंसात्मक राजनीति) छोड्नुभयो भन्ने हो ?

त्यो, भोलि सार्वजनिक गर्छौं । विस्तृत विवरण समारोहमै सार्वजनिक गरिन्छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्नुहुनेछ । सहमतिमा त्यहीँ हस्ताक्षर पनि हुनेछ । त्यहीँ सबै पाउनुहुनेछ । भोलि दिउँसो २ बजे राष्ट्रियसभा गृहमा त्यो हुनेछ ।

तीन बुँदे सहमतिबारे अहिले कतिसम्म भन्न सकिन्छ ?

मुलुकका लागि यो अत्यन्तै राम्रो हो । राजनीतिक हिसाबले जुन बाटोतर्फ गइरहेका छौं त्यसका लागि सबैखाले शक्तिहरुलाई एकताबद्ध गराउँदै मुलुकको राष्ट्रियता, लोकतन्त्र र सामाजिक रुपान्तरणको बाटोमा एकताबद्ध भएर जाने वर्तमान सरकारको प्रयास हो, त्यो प्रयासको सफलताको महत्वपूर्ण कडीका रुपमा लिएका छौं ।

अब शान्तिपूर्ण राजनीतिमा उहाँहरु आउनुभयो हैन ?

स्वभाविक रुपमा नि ।

भनेको अबको उहाँहरुको बाटो संसदीय राजनीति हो ?

त्यो उहाँहरुको कुरा भयो । अहिले हामीले भन्न सक्ने भनेको सम्वादको माध्यमबाट समस्याको समाधान गर्ने, शान्तिपूर्ण बाटोमा जाने कुरामा सहमति भयो । त्यही नै प्रधान विषय हो । बाँकी उहाँहरुको पार्टीको आन्तरिक विषयहरु कसरी निर्णय गर्नुहुन्छ, उहाँहरुको कुरा हो ।

कतिपयले विप्लवसँग सत्ता सहकार्यदेखि पार्टी एकतासम्मको अनुमान पनि गरिरहेका छन् नि ?

नकारात्मक ढंगले सोच्ने, अनुमानका भरमा सोच्नेहरुको बारेमा धेरै केही भन्नु छैन । अहिले जे उपलब्धी भएको छ राम्रो भएको छ । भोलिको सम्भावनाको बारेमा अहिल्यै केही बोल्ने स्थिति छैन । सम्भावनाको बारेमा अहिले नबोलौं ।

अहिले भनेको शान्तिपूर्ण रुपमा अगाडि जाने कुरामा यो सहमतिले महत्वपूर्ण वातावरण बनेको छ । सबै राजनीतिक शक्तिहरु शान्तिपूर्ण राजनीतिको धारमा आउने अवस्था बनेको छ, यसलाई स्वागत गर्नुपर्छ ।

ठूलै राजनीतिक पंक्तिको अनुमान विपरीत पृथकतावादी अभियान चलाइरहेका सिके राउतसँग सहमति अनि फेरि संसदीय व्यवस्थाविरुद्ध लडिरहेको विप्लवसँग सहमति । कसरी सम्भव भयो यो ?

देश र जनताको हित जेमा हुन्छ, त्यही काम गर्ने हाम्रो उद्देश्य हो । त्यही उद्देश्यलाई केन्द्र भागमा राख्दा यस्ता विषयहरुमा सहमतिमा पुग्न सकिदो रहेछ भन्ने यसले पनि प्रमाणित गरेको छ । अरु त तपाईंहरुले भोलि नै सुन्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment