Comments Add Comment

वडाध्यक्षसँग भारतीय आधार कार्ड रहेको भन्दै प्रशासनमा उजुरी

भारतीय आधार कार्डको सांकेतिक तस्वीर ।

२० फागुन, विराटनगर । मोरङका एक वडाध्यक्षसँग भारतीय आधार कार्ड रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँसँग भारतीय आधार कार्ड रहेको दाबीसहित सोही वडाका जनप्रतिनिधिहरुले कारबाहीको माग राख्दै प्रशासनमा उजुरी दिएका हुन् । मियाँ तत्कालिन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । मियाँसँग भारतीय आधारकार्ड र बैंकमा खाता रहेको उजुरीमा उल्लेख छ ।

नेपालमा उनले वंशज नागरिकता लिएका छन् । मोरङको तत्कालिन डाइनिया गाविस वडा– ३ बाट २०५५ असार ५ गते वंशजको नागरिकता लिएका हुन् ।

दोहोरो नागरिकता लिएको भन्दै वडा सदस्यहरूले माघ २६ गते अध्यक्षविरूद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरेका छन् । उजुरी अनुसार मियाँसँग ७०५४९२०३५५७० र भीआईडी नम्बर ९१२३८१११८८५३४५० रहेको आधार कार्ड छ । आधार कार्डका आधारमा फिनो पेमेन्टस बैंकमा खाता खोलेका छन् । बैंकको विवरणा नुरुलले आफ्नो ठेगाना सोनापुर– ८ अररिया उल्लेख छ ।

भारतीय आधार कार्ड भएका अध्यक्षले भ्रष्ट्राचार गरी रकम भारततर्फ लगेको आरोप लगाउँदै वडासदस्यहरु कन्याँ मिया, कन्हैयालाल गनगाई, दुखिया ऋषिदेव र शिलादेवी गनगाइले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन् ।

वडाअध्यक्ष भन्छन् : दिल्ली बस्दा बनाए

वडाअध्यक्ष मियाँले आफूले भारतको दिल्लीमा बस्दा आधारकार्ड बनाएको बताएका छन् । दिल्लीमा परिवारको व्यवसाय रहेको बताउँदै उनले आफूसँग कार्ड रहेको स्वीकार गरे ।

स्थानीय तहको निर्वाचन जितेपछि कार्ड प्रयोग नगरेको पनि मियाँले बताए । ‘नेपाल आएपछि जनताले चुनावमा उठाउन चाहे, पार्टीले टिकट दियो,’ उनले भने, ‘अहिले कार्ड एक्टिभ छैन, कम्युटरबाट हेर्न मिल्छ होला ।’

आफूविरुद्ध केही व्यक्तिले षड्यन्त्र गरेको उनको दावी छ । ‘दिल्लीमा म पहिले बसेको हो । त्यहाँ बिजनेस पनि छ,’ उनले भने, ‘उता बस्दा आवश्यक परेपछि बनाएको थिएँ ।’

जनप्रतिनिधि भएपछि आधार कार्ड त्यागेको दाबी गरेका उनले आफ्नो बदमान गराउन जनप्रतिनिधि र स्थानीय केही मानिस लागि परेको उनको गुनासो छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वडा अध्यक्षले नै भारतीय आधारकार्ड बनाएको जानकारी आएपछि छानविन प्रक्रिया अघि बढाइएको बताए । अनुसन्धानपछि थप प्रक्रिया अघि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment