
२० फागुन, काठमाडौं । उपत्यकाका विभिन्न ठाउँबाट सडक विस्तार पीडितहरूलाई बालाजु बाइपासमा गोलबद्ध गराएर बृहत् कार्यक्रम गर्ने तयारी भएको छ ।
फागुन १२ गते दिउँसो बालाजु बाइपासमा सडक विस्तारको विरोध गर्ने स्थानीयलाई पक्राउ गरिएको थियो । पक्राउ परेका स्थानीयलाई भेट्न पुगेका अभियन्ता एवं उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायमी तथा विरोचन श्रेष्ठ बालाजु प्रहरी वृत्तमा पुग्दा पक्राउ परेका थिए ।
सायमीसहित ८ जनालाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको थियो ।हिरासतमुक्त भएका सायमी भोलिपल्टै बाइपासका पीडितलाई भेट्न गएका थिए । बालाजुमा पीडित परिवारसँग छलफल गरेपछि आन्दोलनको अझ सशक्त बनाउने उनले बताएका थिए ।
अनलाइनखबरसँग कुरा गर्दै सायमीले न्यायको अनुभूति नभएकाले आन्दोलन नरोकिने बताए । उनले भने, ‘मातृभाषा बोल्न नपाउने, आफ्नो जग्गामा बस्न नपाउने गरी सरकारले दमन गरेको छ । यसका विरुद्ध सम्पूर्ण उपत्यकाबासी एक भएर लड्नेछौं ।’
यता बृहत् नागरिक आन्दोलनले पनि सडक विस्तार पीडितको पक्षमा निरन्तर आन्दोलन गर्ने बताएको छ । बृहत् नागरिक आन्दोलनका अभियन्ता युग पाठकले फागुन २४ गते बालाजुमा र भाषिक पहिचानको पक्षमा फागुन २७ गते पाटनमा आन्दोलन गरिने बताए ।
सडक विस्तार पीडितको पक्षमा नागरिक समाज, विभिन्न स्थानका सडक विस्तार पीडित संघर्ष समिति, नेवाः देय् दबू, विभिन्न खलःपुचः तर्था सांस्कृतिक मोर्चाले एक्येबद्धता जनाउँदै आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया 4