Comments Add Comment

इटालीले रोक्यो अस्ट्रेलिया निर्यात हुने कोरोना खोप

Photo Credit : REUTERS

२१ फागुन, काठमाडौं । इटालीको सरकारले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अस्ट्रेलिया निर्यातमा रोक लगाएको छ । यससँगै इटालीमा बनेको दुई लाख ५० हजार डोज कोरोना खोप निर्यात रोकिनेछ । युरोपेली संघ (ईयू)ले आफ्ना सबै सदस्य राष्ट्रलाई पर्याप्त मात्रामा खोप उपलब्ध गराउन निर्यातमा कडाइ गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार खोप निर्यातमा रोक लगाउने इटाली पहिलो मुलुक हो ।

अस्ट्रेलियाले इटालीले कोरोना खोप रोक्दैमा आफ्नो खोप कार्यक्रम प्रभावित नहुने बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यो निर्णयमा युरोपेली आयोगले पनि साथ दिएको छ । एस्ट्राजेनेकाले ईयूका सबै मुलुकमा मार्च महिनाभित्र ४० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोना खोप उपलब्ध गराउने सम्झौता गरेको छ । यद्यपि कम्पनीको खोप उत्पादनमा देखिएको समस्याको कारण यसअघि सम्झौता गरेअनुसारको खोप उपलब्ध नहुने आशंका बढेको छ ।

गत जनवरीमा इटालीका प्रधानमन्त्री जिजिप्पे कोन्टेले खोप आपूर्तिमा हुने ढिलाइ स्वीकार्य नहुने बताएका थिए । कोरानो खोप कार्यक्रम निकै सुस्त गतिमा चलिरहेको भन्दै अहिले ईयूको आलोचना भइरहेको छ । अहिलेसम्म इटालीको कदमको विषयमा ईयू वा एस्ट्राजेनेकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment