Comments Add Comment

पुलिसमाथि एपीएफको रोमाञ्चक जित, दीपेन्द्रको शतक खेर

२३ फागुन काठमाडौं । विभागीय प्रतिद्वन्दी नेपाल पुलिसलाई १ विकेटले पराजित गर्दै  एपीएफले काठमाडौं मेयर्स कप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले पुलिसमाथि रोमाञ्चक जित हात पार्दा दीपेन्द्र सिंह ऐरीको शतक भने काम लागेन । दीपेन्द्रले १४० रन बनाएका थिए ।

सुवास खकुरेल र सन्दीप जोराको अर्धशतक प्रेरित एपीएफले पुलिसले दिएको २५९ रनको लक्ष्य एक बल बाँकी छँदा ९ विकेट गुमाएर पुरा गरेको हो । लगातार दोस्रो जितपछि ४ अंक जोडेको एपीएफले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मीमाथि पनि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो ।

एपीएफका सन्दीप जोराले ६५ बल खेल्दै २ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए ।

यस्तै सुवासले ७९ बलमा ६ चौकासहित ५० रन जोडे । उनले आसिफ शेखसँग ६७ रनको साझेदारी गरेका थिए । आसिफले ४२ रन जोडे । उनले ४८ बलमा ५ चौका र १ छक्कासहित ४२ रन जोडे ।

सुमित महर्जन ३३ र कप्तान शरद भेषवाकर २० रनमा अविजित रहे । सुमितले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । शरदले २६ बलमा एक छक्कासहित २० रन जोडे । तेस्रो नम्बरमा ब्याटिङ गरेका शरदले २१औं ओभरमा रिटायर्ड हर्ट हुँदै मैदान छाडेका थिए । तर अन्तिममा उनैले विजयी रन प्रहार गरे ।

अन्तिम बलमा २ रन आवश्यक रहेको बेला शरदले पुलिसका रासिद खानलाई छक्का प्रहार गर्दै एपीएफलाई जित दिलाए ।

बलिङतर्फ पुलिसका पवन सर्राफले ९ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिएपनि टोलीको जितका लागि पर्याप्त हुन सकेन । यस्तै योगेन्द्र सिंह कार्कीले दुई तथा दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले दिपेन्द्र सिंह ऐरीको शानदार शतक मद्दतमा  निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १४०  रन बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले १३१ बल खेल्दै ११ चौका र ६ छक्का प्रहार गर्दै १४० रन बनाएका हुन् । दीपेन्द्रले भुवन कार्कीले बलिङ गरेको ४९औं ओभरमा २३ रन प्रहार गरेका थिए ।

दीपेन्द्रले ४८औं ओभरको दोस्रो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनले १२० बल खेल्दै ८ चौका र ३ छक्का मद्दतमा शतक पूरा गरेका हुन् ।

घरेलु क्रिकेटमा खेलिएको प्रतिस्पर्धात्मक क्रिकेटमा दिपेन्द्रको पहिलो शतक हो । उनले पुलिसको लागि पनि पहिलो शतक प्रहार गरेका हुन् ।

दिपेन्द्र र पवनले पाँचौ विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । यस्तै छैटौं विकेटका लागि अनिल शाहसँग ४४ रनको साझेदारी गरे ।

यस्तै पुलिसका लागि पवन सर्राफले ३५ र ओपनर सुनिल धमलाले ३३ रन बनाए । अनिल शाहले १८ रन जोडे । ओपनर कुशल भुर्तेल १०, अमि श्रेष्ठ १ र कप्तान मन्जित श्रेष्ठ ३ रन बनाएर आउट भए ।

एपीएफका लागि कप्तान शरद भेषवाकरले १० ओभर बलिङ गर्दै ४२ रन खर्चेर ३ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment