+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

चुनौतीमै अवसर खोज्न सक्ने महिलाहरु सफल हुन्छन् : महिला उद्यमी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते २०:१८

२४ फागुन, वीरगञ्ज । वीरगञ्जका उद्यमी महिलाहरुले चुनौतीसँगै अवसर पनि हुने भएकोले हिम्मतका साथ अघि बढ्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वीरगञ्जमा आयोजित कार्यक्रममा ९ जना महिला उद्यमीले चुनौतीको सामना गर्न सके मात्रै अघि बढ्न सकिने बताए ।

परिस्थिति सधैं आफ्नो अनुकुल नहुने भएकोले प्रतिकुल परिस्थितिमा समेत नडगमगाउने महिला नै सफल हुने बताएका हुन् । उनीहरुले महिला अघि बढ्नका लागि पुरुषको साथ पनि आवश्यक रहेको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा नेपाल उद्यमी मञ्चले ‘महिला उद्यमीको यात्रामा अवसर र चुनौती विषयक’ अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

घर बाहिर निस्केका महिलालाई घरकोसँगै बाहिरको समेत काम गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ थियो ।

डेसिमल कलेजकी निर्देशक डाक्टर सुष्मा द्विवेदी, वीरगञ्ज हार्ट एण्ड सुपर स्पेस्लिटी पोली क्लिनिककी सञ्चालिका मुटु रोग विशेषज्ञ मधु गुप्ता, सन्तरा क्लिनिककी सञ्चालिका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर कृति अग्रवाल, श्रीराम अस्पतालकी सञ्चालिका डाक्टर प्रीति यादव, एनजे बुटिककी सञ्चालिका नुतन सरावगी, मित्रो क्याफे कि सञ्चालिका शिल्पा अग्रवाल, फेमिन व्युटी होमकी सञ्चलिका गुड्डी जोशी लगायतले व्यवसाय सञ्चालनका क्रममा देखिएका चुनौती र विद्यमान अवसरको बारेमा चर्चा गरेका थिए ।

उनीहरुले वीरगञ्ज अवसर भएको सहर भएकोले आँटिलो भएर अघि बढ्दा जुनसुकै व्यवसाय सफल हुन सक्ने तर्क गरे । वित्तिय संस्थाले सहजै विश्वास नगर्ने, घरायसी सहयोगको अभाव, महिलालाई घर बाहिर देख्न नचाहाने मानसिकता, अध्ययन नै पुरा नभई विवाह गरिदिने चलन चुनौति रहेको उनीहरुको ठहर छ ।

गरिब वर्गका महिलालाई मात्रै नभएर धनी सम्पन्न घरका महिलाका आफ्नै खालका चुनौती रहेको बताउँदै उनीहरुले चुनौतीमै अवसर खोज्न सक्ने महिला नै सफल हुने बताएका थिए ।

व्युटिसियन गुड्डी जोशीले महिलालाई ३३ प्रतिशत मात्रै नभएर ५० प्रतिशत आरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

यसोदा व्याग उद्योगकी सञ्चालिका यसोदा गजुरेलले राष्ट्रिय वाणिज्य बैंकबाट १२ लाख रुपैयाँ सहुलियत ऋण लिएर व्यवसायलाई अघि बढाउन सहयोग मिलेको बताइन् । १४ वटा मेसिनले व्याग सिलाउँदा समेत सिजनमा माग धान्न मुश्किल पर्ने गरेको बताउँदै उनले ३ जना महिला र १८ जना पुरुषलाई रोजगारी दिन सफल भएको सुनाइन् ।

नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले महिलामा लुकेको उद्यमशीलतालाई बाहिर ल्याउन सघाउने बताए । ‘अधिकांश महिलामा प्रतिभा हुन्छ तर त्यसलाई व्यवसायिक बनाउन नसकेको अवस्था हुन्छ,’ उनले भने, ‘युवा उद्यमी मञ्च बलियो संस्था त हैन, यसले आफैंले अवसर दिन सक्दैन । तर सरोकारवालासम्म पुर्‍याउने पुलको काम गर्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले महिला उद्यमीलाई सहुलियत पूर्ण कर्जाका लागि कागजी प्रक्रिया मिलाउन संघले सहयोग गर्ने बताए । उनले संघले पनि आफ्नो हिसाबले महिला उद्यमीलाई प्रोत्साहन गर्दै आएको बताउँदै आवश्यक पर्दा राज्यका विभिन्न निकायमा लबिङ समेत गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?