Comments Add Comment

बेलायती सांसदले गरे भारतको किसान आन्दोलनको समर्थन, भारतको आपत्ति

२५ फागुन, काठमाडौं । बेलायतको लेबर पार्टीका सांसद जर्मी कोर्बिनले भारतमा जारी किसानहरुको आन्दोलनको समर्थन गरेका छन् । कोर्बिनले बेलायत भारतीय किसानको पक्षमा उभिनु आवश्यक रहेको बताएका छन् । कोर्बिनले भारतमा किसानहरुले गरिरहेको आन्दोलनको पनि समर्थन गर्नु जरुरी रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा कार्बिनले पोस्ट गरेको एक भिडियोमा उनले भारतमा पछिल्लो २० वर्षमा २२ हजार भारतीय किसानहरुले आत्महत्या गरिसकेको र उनीहरुले अहिले सरकारले ल्याएको कृषि कानुनको विरोध गर्दै प्रदर्शन गरिरहेको बताएका छन् । अहिले सरकारले किसानहरुलाई आफ्नो उत्पादन खुला बजारमा बेच्न बाध्य पार्ने तर भारतका ८५ प्रतिशत किसानसँग पाँच एकडभन्दा कम जमिन भएकाले उनीहरुले विश्व बजारमा ठूला कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दे उनीहरु मर्कामा पर्ने कोर्बिनले बताए । उनले अहिले भारतका किसानहरु इतिहासको सही बाटोमा अघि बढिरहेको बताएका छन् ।

सोमबार बेलायती संसद्को वेस्टमिन्स्टर कमिटी रुममा भारतमा जारी आन्दोलनमा किसानको सुरक्षा र प्रेस स्वतन्त्रताको विषयमा चर्चा भएको थियो । ९० मिनेटसम्म यस विषयमा चर्चा भएको थियो । उक्त बहसको क्रममा लेबर पार्टी, लिबरल डेमोक्रेट्स र स्कटिस नेशलन पार्टीलगायतका पार्टीका सांसदहरुले विरोध प्रदर्शनको विषयमा भारतले चालेको कदमबारे आपत्ति जनाएका थिए । यसको जवाफमा बेलायतको सरकारले दुई मुलुकका प्रधानमन्त्रीको भेटवार्ता हुँदा यस विषयमा कुरा उठाउने बताएको थियो ।

बेलायतको लण्डनस्थित भारतीय उच्चायोगले भने यो बहसमा सत्यतालाई नबुझी झुटो दाबी गरिएको उल्लेख गरेको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment