Comments Add Comment

फैसलाले अधिनायकवाद लाद्ने योजना असफल पारिदियो : ऋषि कट्टेल

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता निष्क्रिय पारेर अधिनायकवाद लाद्ने योजना असफल पारिदिएको टिप्पणी गरेका छन् ।

मंगलबार विज्ञप्ति निकालेर उनले सर्वोच्चको फैसलाप्रति खुशी व्यक्त गर्दै अधिनायकवाद लाद्ने गुरुयोजना एक हदसम्म असफल भएको बताएका हुन् । ‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरू योजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ’ उनले भनेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई बनेको दल नेपाल कम्युनिस्ट पार्टी नै राखेपछि कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए । त्यसमा सर्वोच्चले कट्टेलको पक्षमा फैसला गरेर एमाले र माओवादी केन्द्रको एकीकरणलाई निष्क्रिय पारिदिएको थियो ।

यो फैसलाले समाजमा रहेको वर्गीय लगायतका शोषण र विभेदका विरूद्ध संघर्ष गरिरहेका देशभक्तहरूमा उत्साह थपेको पनि कट्टेलले बताए ।

उनले एमाले र माओवादी केन्द्रले शक्तिको उन्मादमा आफैंले बनाएको संविधान र कानुन विपरीत अरुको पहिचान अतिक्रमण हुने गरी जबर्जस्ती रुपमा दल दर्ता गरेको पनि उल्लेख गरेका छन् ।

कट्टेलले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न सबै न्यायप्रेमी क्रान्तिकारी एकजुट हुनुपर्ने पनि बताएका छन् । उनले सर्वोच्चबाट आफ्नो पक्षमा फैसला आउँदासम्मको यात्रामा सहयोग गर्नेहरुलाई धन्यवाद पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment