
२५ फागुन, विराटनगर । मोरङ उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका राजेश रणपहेंलीलाई जिल्ला अदालत मोरङले थुनामा राख्ने आदेश दिएको छ ।
मंगलबार थुनछेक बहसपछि न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर भई उर्लाबारी-६ बस्ने ३२ वर्षीय रणपहेंलीलाई थुनामा राख्ने आदेश दिएको हो ।
रणपहेली गत बिहीबार पक्राउ परेका थिए । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आइतबार अदालतमा पेस गरेको थियो ।
आफ्ना साथीहरु भाडामा बस्ने गरेको उर्लाबारी-६ स्थित रमेश गिरीको घरमा सुत्न गएका बास्तोलाको शंकास्पद मृत्यु भएको अवस्थामा गत पुस ५ गते शव भेटिएको थियो ।
हत्या आरोपमा दायर गरिएको मुद्दामा रणपहेंलीसहित झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेल, मोरङको रतुवामाई नगरपालिका-१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी-६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी-९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी-६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीमध्ये गिरी र राई धरौटीमा छुटेका छन् भने पौडेल चोरी मुद्दामा इलाका प्रहरी कार्यालय दमकको हिरासतमा छन् ।
प्रतिक्रिया 4