Comments Add Comment

सँगै लागूऔषध सेवन गर्ने साथी, व्यक्तिगत रिसइबीबाट हत्या

२५ फागुन, वीरगञ्ज । बारा निजगढका १८ वर्षीय रोहित शर्माको हत्या उनकै साथीले व्यक्तिगत रिसइबीका कारण गरेको खुलेको छ । प्रहरीले शर्माको हत्या आरोपमा रौतहट चन्द्रपुर-४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धानबाट रिसइबीका कारण हत्या भएको खुलेको हो ।

बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घरमै सुतेको ठाउँमा धारिलो हतियार प्रहारबाट शर्माको हत्या भएको थियो । प्रारम्भिक सोधपुछको क्रममा अभियुक्त अरूणकुमार साहले मृतक शर्मासँग पहिलादेखि नै रिसइवी रहेको बताएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच लागूऔषध सेवन गर्ने विषयमा विवाद भइरहने गरेको र त्यही कारण हत्या भएको प्रहरीको दाबी छ । अघिल्लो दिन उनीहरु सँगै बसेर लागूऔषध गाँजा, ट्याबलेट र रक्सी सेवन गरेको प्रहरीले जनाएको छ । अभियुक्त साहले आफूलाई शर्माले पेस्तोल हानेर मारिदिन्छु भनेर अपमानित गरेका कारण हत्या गरेको बताएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

‘मार्ने मनसाय अनुसार नै चक्कुसहित अघिल्लो दिन राति ऊसँगै गएर घरमा नै सुतेको रहेछ । राति साढे ९ बजेदेखि नै उनीहरु सँगै थिए,’ एसपी शाहीले भने, ‘बिहान करिब ४ बजेतिर चक्कु प्रहार गरी हत्या गरेको र त्यसपछि मोटरसाइकलमा भागेर चन्द्रपुरस्थित घरमा गएर कपडा बदलेर पसलमा गई बसेको हुँ भनेको छ ।’

साहविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्नुका साथै घटनामा अन्यको संलग्नता भए  नभएको अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

हत्यापछि अभियुक्त निस्कँदा प्रयोग गरेको मोटरसाइकललाई पछ्याउँदै जाँदा अभियुक्तसम्म पुगेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘हत्या गरेर निस्कँदा प्रयोग गरेको बाइकलाई फलो गर्‍यौं । झगडा भएको देख्ने मानिसहरुसँग बुझेका छौं । यो मान्छे नभनेपनि यो कारणले हत्या भएको हो भन्ने पत्ता लागिसकेको थियो,’ उनले भने, ‘जसलाई फलो गर्‍यौं, उसको हातमा क्राइम गर्दाका क्रममा लागेको चोटपटक र क्राइममा प्रयोग भएको चक्कु र रगत लागेको कपडा भेटियो । यसरी पक्राउ गर्न सफल भयौं ।’

‘मैले नमारेको भए उसले मलाई नै मार्ने थियो’ भन्ने अभियुक्त साहको भनाइ रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment