
२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन्* । सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ उपत्यकासहित आसपासको दृश्यावलोकनसमेत गरिन् । सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दहचोकको ऐतिहासिक तथा धार्मिक पक्षबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
ऐतिहासक तथा धार्मिक पर्यटकीयस्थल दहचोकलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ । सो ठाउँमा हरेक वर्ष फागनु ९ गते इन्द्रदह पर्यटन महोत्सव हुँदै आएको छ ।
दहचोकमा आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको छ । विशेषतः सार्वजनिक बिदाका दिन उपत्यका र आसपासका वासिन्दा मनोरञ्जनका लागि दहचोक पुग्ने गरेका छन् । दहचोकबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट र गोरखालगायत क्षेत्र देख्न सकिन्छ ।
नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका प्रधानसेनापति कालु पाँडेले कीर्तिपुर युद्धका क्रममा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गरेका थिए ।
काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकमनाको दर्शन हुने सक्ने गरी मेरो शरीर समाधिस्थ गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनाराण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थ गरिएको इतिहास छ ।
* यसअघि ‘राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेको छ’ भएकोमा सच्याइएको छ ।
सबै तस्वीर : आर्यन धिमाल
प्रतिक्रिया 4