Comments Add Comment
पहिलो डेपुटी गभर्नर महिला :

सडकपेटीमा किनेको एउटा किताबले बदलेको बाटो

२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंककी नवनियुक्त डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना शुक्रबार मध्यान्ह अत्यन्तै व्यस्त थिइन् । बालुवाटारस्थित कार्यकक्ष बाहिर भेटेर बधाई दिनेको लामो लाइन थियो भने टेलिफोनमार्फत बधाई दिनेलाई धन्यवाद मात्रै भन्न पनि उनलाई भ्याइ-नभ्याइ थियो ।

गत मंगलबार सरकारले निलम र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । नियुक्तिको सूचना साँझतिर सार्वजनिक भयो । राष्ट्र बैंकमा बुधबार ढिलो गरी मात्रै पत्र पुग्यो ।

‘सपथ ग्रहण गर्दा चार बजिसकेको थियो, बुधबार कार्यभार सम्हाले पनि औपचारिकता मात्रै भयो,’ उनले भनिन् । बिहीबार सार्वजनिक बिदा भइहाल्यो । त्यही भएर शुक्रबार कार्यालय खुलेसँगै उनलाई बधाई दिनेको ओइरो लाग्यो ।

झापा गौरादहमा जन्मेकी उनी राष्ट्र बैंकको पहिलो डेपुटी गभर्नर महिला हुन् । यो जिम्मेवारी पाउँछु भन्ने सोच्नु भएको थियो ? भन्ने प्रश्नमा उनले मुस्कुराउँदै भनिन्, ‘योग्य उम्मेदवार थिएँ, सरकारले यो कुरा बुझ्छ भन्ने सोचेकी थिएँ ।’

‘मैले भन्दा पहिला बुबाले थाहा पाउनु भएछ’

पहिलो डेपुटी गभर्नर भएकी उनी जति खुसी छिन् त्योभन्दा धेरै खुसी उनका बुबा छन् । ‘बुबाले बधाई छ छोरी भन्दै फोन गर्नुभयो’ निलम भन्छिन्, ‘अहिले मलाई जति बधाई आइरहेको छ, त्यस्तै बधाई बुवाले पनि पाइरहनु भएको छ रे !’

शुक्रबार मध्यान्ह डेपुटी गभर्नरको कार्यकक्षमै पुगेर बधाई दिनेको लाइनमा निलमका बुबा पनि थिए । ‘छोरीले खादा–माला लगाएर कार्यकक्षमा बसेको हेर्न मन लागेर आउनुभएको रे’ उनले भनिन् ।

२४ मंसिर २०२५ मा जन्मेकी निलमका बुबा माध्यमिक विद्यालय निरीक्षक (माविनि) र आमा शिक्षिका हुन् । माविनि बुबाको जहाँ–जहाँ सरुवा हुन्थ्यो, निलम पनि त्यही क्षेत्रको स्कुल पढ्न जान्थिन् । प्राथमिक तहको अध्ययन पूरा गर्न धेरै स्कुल चाहारेकी उनले झापा दमकको हिमालय माविबाट २०४१ सालमा एसएलसी उतीर्ण गरेकी उनले दमक क्याम्पसबाट जिल्लाकै उत्कृष्ट नतिजासहित आईकम उतीर्ण गरिन् । त्यसपछि स्नातक तहको अध्ययनका लागि उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पस पुगिन । स्नातक तह प्रथम वर्ष अध्ययन गर्दागर्दै विराटनगरमै निलमको विवाह भयो । श्रीमान् शिक्षण पेशामै थिए ।

पहिलो सन्तानको रुपमा छोरी जन्मिइन् । पारिवारिक जिम्मेवारी पनि उनकै काँधमा थियो । उनको करियरमा भने असर नपरोस् भनेर श्रीमानले पढाइलाई निरन्तरता दिन लगाए । उनी भन्छिन्, ‘श्रीमान्ले घरको स–सानो काममा पनि सघाउनु हुन्थ्यो, जसले गर्दा मलाई पढ्न सहज भयो ।’

परीक्षाको समयमा पूरै ध्यान पढाइमा केन्द्रित गर्न पाएकोमा उनी श्रीमान्प्रति अनुग्रहित छिन् । एमबीएको पढाइ पूरा गरेपछि अध्यापनमा लागिन् । ‘उहाँ अर्थशास्त्र पढाउनु हुन्थ्यो, त्यही क्याम्पसमा म लेखाशास्त्र पढाउँथे’ निलम भन्छिन् ।

स्थगित परीक्षाले जुराएको अवसर

निलम सानै हुँदा माविनि बुबालाई भेट्न उनको घरमा मानिसहरुको आउजाउ हुन्थ्यो । आउनेमध्ये अधिकांशले जागिर मिलाइदिन अनुरोध गर्थे । यो सब देखेर हुर्केकी निलमलाई लाग्यो, बुबाले पक्कै मलाई पनि जागिर मिलाइ दिनुहुन्छ । एसएलसीपछि बुबालाई भनेर जागिर खाने सोच मनमनै बनाएकी थिइन् ।

‘अरुलाई त भनिदिनु हुन्छ भने म त आफ्नै छोरी, एसएलसी सक्ने बित्तिकै मलाई जागिर भन्दिनुस् हैँ भनेर बुवालाई भन्थें’ उनी पुरानो कुरा सम्झिन्छिन्, ‘तर बुवाले आफै नाम निकालेर जागिर खानुपर्छ भन्नुभयो, त्यो भनाइ मेरा लागि प्रेरणा बन्यो ।’

क्याम्पस पढाउँदाको आम्दानी नराम्रो थिएन । लेखाशास्त्रको ट्युसन पढ्ने विद्यार्थी पनि धेरै हुन्थे ।

२०५२ सालको कुरा हो । निलमका श्रीमानले पढाउने विद्यार्थीहरूले राष्ट्र बैंकमा जागिर खुलेको सूचना देखाए ।

सडकपेटीको पुस्तकको थुप्रोमा राष्ट्र बैंक प्रवेशका लागि तयारी गर्न सहयोग गर्ने एउटा ‘गाइड’ पनि थियो । सडकपेटीमा किनेको त्यही ‘गाइड’ आफ्नो जीवनको ‘गाइड’ बनेको उनी बताउँछिन् । निलम भन्छिन्, ‘त्यो गाइड बुक मेरो लागि गुरुमन्त्र नै बन्यो, त्यो किनेपछि परीक्षा उत्तीर्ण हुन्छु भन्नेमा पुगें ।’

परीक्षाका लागि उनी काठमाडौं जानुपर्ने भयो । ‘मलाई एक्लै हिँड्न डर लाग्दैनथ्यो, रात्री बस चढेर काठमाडौं आएँ’ निलम भन्छिन्, ‘ललितपुरको कुसुन्तीमा आफन्त थिए । त्यही बसेर राष्ट्र बैंकको परीक्षा दिन बालुवाटार पुगें ।’

राजनीतिक माहोल बिग्रिरहेका बेला परीक्षाका लागि राष्ट्र बैंक पुगेकी उनी भित्तामा टाँसेको सूचना देखेपछि छक्क परिन् । त्यहाँ परीक्षा स्थगित भएको सूचना थियो ।
रात्री बस चढेर विराटनगरबाट आएकी उनी परीक्षा नदिई फर्कनु पर्ने भयो । मन खिन्न पारेर कुसुन्ती जाने बसको खोजीमा लागिन् । त्यतिबेला सडकपेटीमा असरल्ल बेच्न राखिएका पुस्तकमा आँखा पर्‍यो ।

सडकपेटीको पुस्तकको थुप्रोमा राष्ट्र बैंक प्रवेशका लागि तयारी गर्न सहयोग गर्ने एउटा ‘गाइड’ पनि थियो । सडकपेटीमा किनेको त्यही ‘गाइड’ आफ्नो जीवनको ‘गाइड’ बनेको उनी बताउँछिन् । निलम भन्छिन्, ‘त्यो गाइड बुक मेरो लागि गुरुमन्त्र नै बन्यो, त्यो किनेपछि परीक्षा उत्तीर्ण हुन्छु भन्नेमा पुगें ।’
नभन्दै २०५४ सालमा खुलेको सहायक निर्देशकको परीक्षा उनले पहिलो पटकमै उत्तीर्ण गरिन् । ‘एकै पटकमा नाम निस्किएपछि म निक्कै एक्ससाइटेड भएँ’ अनुहार उज्यालो पार्दै निलमले भनिन् ।

सहायक निर्देशकको जिम्मेवारी विदेशी विनिमय विभागबाट सुरु गरिन् । त्यहाँ एक वर्ष काम गरिन् । त्यसपछि उनको विराटनगर सरुवा भयो । विराटनगरबाट फेरि काठमाडौं सरुवा भयो । त्यसपछि सपरिवार काठमाडौं आइन् । केही वर्ष बैंक सुपरिवेक्षण विभागमा काम गरिन् ।
२०५९ सालमा राष्ट्र बैंकबाटै अध्ययनका लागि अष्ट्रेलिया जाने अवसर जु¥यो । अध्ययन पूरा गरेर आएपछि उपनिर्देशकमा बढुवा खुल्यो । उनले नाम निकालिन् । चार वर्ष अनुसन्धान विभागमा काम गरेकी निलमको २०६६ सालमा निर्देशकमा बढुवा भयो । निर्देशक भएपछि पनि उनले बैंक सुपरिवेक्षण विभाग र अनुसन्धान विभागमा काम गरिन् ।
२०७१ सालमा राष्ट्र बैंक उच्च व्यवस्थापनमा राष्ट्र बैंकको पोखरा निर्देशकमा महिलालाई पठाउने कुरा उठ्यो । कसलाई पठाउने भन्ने विषय टुंगो लागेकै थिएन । ‘मैले म आफंै जान्छु भने, नभन्दै मेरो त्यहाँ सरुवा भयो’ उनी भन्छिन्, ‘क्षेत्रीय कार्यालयको नेतृत्व गर्ने पहिलो व्यवस्थापक महिला पनि म नै हुँ ।’

‘कुशलतापूर्वक जिम्मेवारी निभाउँछु’

१४ महिना पोखरा कार्यालयमा काम गर्दा धेरै कुरा सिकेको उनको अनुभव छ । उनी भन्छिन्, ‘त्यो एउटा मिनी राष्ट्र बैंक हो, त्यहाँ काम गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएँ ।’ त्यसपछि उनी अनुसन्धान विभागमा आइन् ।

राष्ट्र बैंक प्रवेश गरेको २० वर्षपछि अर्थात् २०७४ सालमा उनलाई राष्ट्र बैंकले कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दियो । त्यही वर्ष उनी कार्यकारी निर्देशक भइन् । आन्तरिक लेखा परीक्षण विभाग, राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेर उनले लामै समय काम गरिन् ।

पछिल्लो समय उनी राष्ट्र ऋण विभागमा थिइन् । सरकारका लागि आन्तरिक ऋण उठाउनु पर्ने, तरलता व्यवस्थापन गर्नुपर्नेदेखि मौद्रिक नीतिको कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी आफ्नो विभागमा भएका कारण उनी सरकारसँग त्यसबेलै नजिक भएकी थिइन् ।

सिद्धान्ततः राष्ट्र बैंक स्वायत्त नियामक निकाय हो । तर गभर्नर र डेपुटी गभर्नर सरकारले नियुक्त गर्ने भएकाले राष्ट्र बैंक सरकारबाट प्रभावित हुन्छ कि भन्ने प्रश्न बेलाबेलामा उठिरहन्छ । निलम भने डेपुटी गभर्नरको जिम्मेवारी कसैको प्रभावमा नपरी कुशलतापूर्वक निर्वाह गर्ने बताउँछिन् । देशको अर्थतन्त्र चलायमान बनाउन, वित्तीय स्थायित्व कायम गर्न आफूले खेल्नुपर्ने भूमिकाका लागि सधंै तत्पर रहने उनको भनाइ छ ।

‘महिला भएका कारण मलाई जागिरे यात्रामा कुनै अप्ठेरो महसुस भएको छैन, जे–जे जिम्मेवारी पाएकी छु राम्रैसँगै पूरा गरेकी छु र आगामी दिनमा पनि गर्छु’ उनले भनिन्, ‘अहिलेको जिम्मेवारी त अझ मेरा लागि महत्वपूर्ण छ, राष्ट्र बैंकको उद्देश्य पूरा गर्न सधैं मेरो भूमिका रहनेछ ।’

तस्वीर /भिडियोः शंकर गिरी/अनलाइखबर

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment