Comments Add Comment

रुपन्देही सुपर लिगको उपाधि वेष्टर्नलाई

१ चैत, बुटवल । वेष्टर्न क्रिकेट क्लब बुटवलले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको न्यू होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो ।

खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले ९ विकेटको क्षतिमा १ सय ६ रन बनायो । वेष्टर्नले २८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरी जित निकाल्यो । ९ रनमा पहिलो विकेट गुमाएको वेष्टर्न सुरुवात्मै निकै दवावमा परेको थियो । दोस्रो विकेटका लागि देव खनाल र उत्तम थापाले ६५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए ।

७८ रनमा ४ विकेट गुमाएको वेष्टर्न अजय कौशिल्या र एकेन्द्र कुँवरको जोडी जमेपछि उनीहरुले नै टिमलाई जित दिलाए । उसका लागि देव खनालले सर्वाधिक ४४, उत्तम थापाले २६, एकेन्द्र कुँवरले २२ र अजय कौशिल्याले २२ रन जोडे । होराइजनका गोविन्द केसीले २ तथा तुलबहादुर थापाले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरी ३३ रनमा पहिलो विकेट गुमाएको होराइजनको त्यसपछि कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । उसका लागि विशाल खत्रीले सर्वाधिक २३ रन बनाए । सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १०/१० रन बनाए । होराइजनलाई सस्तैमा रोक्न वेष्टर्नका हरजित सिंह, देव खनाल र राहुल कुमारले २/२ विकेट तथा अभिषेक गौतम, एकेन्द्र कुंवर र विवेक पराजुलीले समान १/१ विकेट लिए ।

देव खनाल म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ हात पारे । लिगमा वेष्टर्नका राहुल कुमारले म्यान अफ द सिरिजको उपाधि प्राप्त गरी १५ हजार रुपैयाँबाट पुरस्कृत भए । उनी उत्कृष्ट ब्याट्सम्यान समेत भए र ५ हजार रुपैयाँ प्राप्त गरे ।

लुम्बिनी खुकुरीका अजय लोनिया उत्कृष्ट बलर भई ५ हजार रुपैयाँ प्राप्त गरे भने लिगमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका पुरुषोत्तम भट्टराई उदियमान खेलाडी हुँदै ५ हजार रुपैयाँबाट पुरस्कृत भए । उपाधि विजेता र उपविजेता खेलाडीहरुलाई पूर्वमन्त्री दीपक बोहरा, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment