Comments Add Comment

गोल्डेन एथ्लेटिक्स मिट : महिला ८ सय मिटर दौडमा सबै खेलाडी डिस्क्वालिफाइड

 

१ चैत, काठमाडौं । धादिङकी सन्तोषी श्रेष्ठ र एपीएफका चन्द्रबहादुर पुन मगर शनिबार भएको गोल्डेन एथ्लेटिक्स मिटको ‘उत्कृष्ट खेलाडी’ घोषित भए ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजना तथा प्रो स्पोर्ट्स प्रालिको संयोजनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको मिटमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ चन्द्र उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस्तै जुनियरतर्फ गर्ल्समा रेश्मा सुवेदी र पुरुषमा साहन चन्द शाह उत्कृष्ट भए ।

एथ्लेटिक्स मिटमा सिनियरतर्फ महिला र पुरुषको ५-५ तथा जुनियरतर्फ ब्वाइज र गर्ल्सको ३-३ गरी कुल १६ इभेन्ट्स समावेश थियो । तर ८०० मिटर महिलाको इभेन्ट्समा भने सबै खेलाडी डिस्क्वालिफाइड भए । लामो समयपछि नेपालमा एथ्लेटिक्सको स्प्रिन्ट इभेन्टमा प्रतिस्पर्धा भएको थियो । तर नाम चलेका खेलाडीहरु नै उक्त इभेन्टमा डिस्क्वालिफाइड भए ।

यसबारे आयोजक र टेक्निकल व्यक्तिसँग बुझ्दा खेलाडीहरुले नियमअनुसार नदौडेकाले डिस्क्वालिफाइड भएको बताए । आयोजक काठमाडौं जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष मन्जु श्रेष्ठले खेलाडीहरुले दौड सुरुवात गरेपछि निश्चित समय आफ्नै लेनमा दौडिनुपर्नेमा त्यो लेन छाडेकोले डिस्क्वालिफाइड भएको बताए ।

यस्तै टेक्निकल पार्ट हेरेका एथ्लेटिक्स प्रशिक्षक चन्द्रबहादुर गुरुङले खेलाडीले आफ्नो लेन चाँडै छाडेकाले उनीहरु क्वालिफाइड नभएको बताए ।

‘स्टार्ट लाइनबाट एउटा कर्भ पूरा भएपछि मात्र खेलाडीले लाइन छाड्न पाउँछ । त्यहाँ बसेको जजले पनि होइनभन्दा भन्दै पहिलो ट्रयाक छाडे । स्टार्ट लाइनदेखि पहिलो घुम्ती पूरा गरेपछि मात्र लाइन छाड्न पाउँछ । आर्क लाइनमा पुगेपछि मात्रै त्यो ट्रायक छाड्न पाउँछ । तर खेलाडीले त्यसअघि नै ट्रयाक छाडे,’ गुरुङले भने । खेलाडीले तोकिएको दूरीभन्दा ४ मिटर अघि नै ट्रयाक छाडेका थिए ।

यस इभेन्ट्समा चार जनाले दौड सुरुवात गरेकोमा एक जनाले सुरुमै छाडे । बाँकी तीन खेलाडीमा दुईजना नेपाल पुलिसका र एकजना एपीएफका थिए ।

यस्तै आयोजकले एथ्लेटिक्स मिट गर्ने तयारी गर्दा एक इभेन्टमा एक खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने जनाएको थियो । विभागीय खेलाडीहरुको वर्चस्व रहेकाले अरु खेलाडीलाई पनि अवसर दिने उद्देश्यले आयोजकले त्यसो गरेको थियो ।

तर दौडका दिन भने एक खेलाडीले दुई इभेन्टमा प्रतिस्पर्धा गरे । त्यो पनि सिनियर र जुनियर दुवैतर्फ । चितवनकी रेश्मा सुवेदीले सिनियरतर्फ २०० मिटर र जुनियरतर्फ १०० मिटरमा प्रतिस्पर्धा गरिन् । उनले दौडेको मात्र भए ठिकै हुने थियो होला तर रेश्माले सिनियरमा दोस्रो स्थान हात पार्दा जुनियरमा पहिलो भइन् । यतिमात्र होइन उनी जुनियरको महिलातर्फ उत्कृष्ट खेलाडी समेत घोषित भइन् ।

यसबारे बुझ्दा उनले आफूलाई सिनियरतर्फ पनि मौका दिन आग्रह गरेकाले प्रतिस्पर्धा गर्न दिएको काठमाडौं जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष मन्जु श्रेष्ठले बताइन् । ‘जुनियरले हामीलाई सिनियरसँग खेल्ने चान्स दिनुस् भनेको भएर हामीले अवसर दिएको हो ।’ श्रेष्ठले भनिन् ।

यस्तै चन्द्र गुरुङले बाहिरबाट खेल्न आउने खेलाडीहरुलाई पनि अवसर पाउन् भनेर सुरुमा एक खेलाडीले एक इभेन्ट्स मात्र खेल्ने प्रावधान बनाएको बताए ।

‘जुनियर पनि सिनियरसँग लड्ने क्षमता छ भन्ने भएकोले जुनियरलाई पनि सिनियरसँग घुलमिल होस् भनेर अवसर दिएको हो ।’ गुरुङले भने,  ‘उसले सिनियरमा २०० मिटर र जुनियरमा १०० मिटरमा दौडेको थियो । सिनियर र जुनियर एउटै इभेन्टमा नपाउने तर फरक इभेन्टमा दौडने पाउने भएकाले खेल्न दिइएको हो ।’

दुई इभेन्ट्समा प्रतिस्पर्धा गर्दै जुनियरमा उत्कृष्ट खेलाडी बनेकी रेश्मा सुवेदी दुबईमा बसेर ट्रेनिङ गर्दै अध्ययन गरिरहेको र उनी यही एथ्लेटिक्स मिटका लागि मात्र नेपाल आएको गुरुङले बताए ।

रेश्माले सिनियर महिलामा २०० मिटर दूरी २७.१४ सेकेण्डमा पूरा गर्दै दोस्रो स्थान हात पारेकी थिइन् । यस्तै जुनियरतर्फ १०० मिटरमा १२.५९ सेकेण्ड टाइमिङ सहित दोस्रो भइन् । सिनियरको महिला १०० मिटरमा पहिलो भएकी आर्मीकी सरस्वती चौधरीले १२.४० सेकेण्डमा दौड पूरा गरेकी थिइन् ।

जुनियरतर्फ एक मिटरमा पहिलो भएका साहन चन्द शाह उत्कृष्ट खेलाडी भए ।

यस्तै सिनियरतर्फ उत्कृष्ट भएकी १३औं सागकी स्वर्ण विजेता समेत रहेकी सन्तोषीले ३ हजार मिटरमा ९ मिनेट ४९.०९ सेकेण्ड टाइमिङसहित पहिलो स्थान हात पारेकी थिइन् । यस्तै दोस्रो भएकी पुलिसकी राजपुरा पछाईले १० मिनेट ४१.९ सेकेण्डमा दूरी पार गरिन् ।   काठमाडौंकी बन्दना राईले १२ मिनेट २२.५ सेकेण्डसाथ तेस्रो भइन् ।

चन्द्रले एक सय मिटरमा आफ्नै क्लबमा आशिष चौधरीलाई पछि पार्दै स्वर्ण जितेका हुन । उनले १०.८० सेकेण्डमा दुरी पार गरे । दोस्रो भएका आशिष चौधरीले १०.८५ सेकेण्ड टाइमिङ निकाले । तेस्रो भएका त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले १०.९९ सेकेण्डमा दूरी पूरा गरे ।

सबै विधामा पहिलो हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार पुरस्कार प्राप्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment