Comments Add Comment

सिमरामा स्थानीय र प्रहरीबीच झडप

४ चैत, वीरगञ्ज । बाराको सिमरा स्थित जगदम्बा स्टिल उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ७ जना प्रहरी, १ जना सशस्त्र प्रहरी, ३ जना उद्योगका कर्मचारी घाईते भएको प्रहरीले जनाएको छ ।

स्थानीय तर्फ केहि सामान्य घाईते छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष कार्की, नर्मता कार्की र अर्की एकजना महिलालाई नियन्त्रणमा लिएर छोडेको छ । स्थिति सामान्य भएपछि तीन घण्टादेखि बन्द रहेको वीरगञ्ज पथलैया सडकखण्डमा सवारी आवागमन सुचारु भएको छ ।

गोदाम भनी बनाएर मेसिन चलाएर रातमा समेत ध्वनी प्रदुषण गरेको भन्दै स्थानीयले जगदम्बा स्टिलको गोदाममा ताल्चा लगाएका थिए । उद्योगले फलामको रडलाई सोझ्याउने मेसिन चलाउने गरेको थियो । दुई दिन अघि मात्रै उद्योग प्रशासनले गोदाममा कुनै मेसिन नराख्ने प्रतिबद्धता जनाएपछि सहमतिमा ताल्चा खोलिएको थियो ।

तर आज दिउँसो गोदाममा मेसिन चलाउन थालेको अनुभूति गाउँलेले गरेपछि ढुंगा हानेका थिए । ढुंगा लागेर गोदाममा रहेको गाडीको सिसा समेत फुटेको छ भने उद्योगका तीन जना कर्मचारी घाईते भएका छन् ।

स्थानीयले ढुंगामुढा गरेको सूचना पाएपछि पुगेको प्रहरीलाई समेत स्थानीयले ढुंगाले हानेका थिए । दोहोरो झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थानीयलाई लखेटेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष तीलक श्रेष्ठले स्थानीयको मागलाई वेवास्ता गरेका कारण स्थिति विग्रिएको बताउँछन् । ‘ गोदाम घरमा मेसिन जडान गरेर उद्योगले स्थानीयलाई आतंकित पार्ने काम गरेको छ । त्यसैको विरोधमा स्थानीयले गोदाममा ताल्चा पनि लगाएका हुन् ।

दुई दिन अघि मात्रै मेसिन नचलाउने सहमतिमा खोलिएको हो ।’ उनले भने ‘ सहमति विपरित उद्योगले मेसिन चलाउन खोजेको भनेर स्थानीयले ढुंगा हानेछन् । त्यसपछि झडप भयो ।’

उद्योगले स्थानीयसँग गरेको सहमतिलाई तोडेर अघि बढ्न खोज्नु र स्थानीय ढुंगामुढामा उत्रनु दुवै गलत कदम भएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले स्थिति सामान्य भईसकेको जानकारी दिए ।

‘ उद्योगको गोदाममा स्थानीयले ताला लगाउने, खोल्ने चलिरहेको थियो । आज अचानक बाहिरबाट ढुंगामुढा गरेछन् । उद्योग भित्रको गाडीका सिसाहरु फुटेका छन् ।’ उनले भने ‘ सुरक्षा गार्ड, सवारी चालकहरुलाई पनि चोट लागेछ । खबर पाएर पुगेका प्रहरीमाथि पनि ढुंगामुढा भयो । तर अहिले स्थिति सामान्य भईसकेको छ ।’

उद्योग र स्थानीयबीचको द्वन्द्व समाधानका लागि जिल्ला प्रशासन कार्यालय बारामा शुक्रबार बिहान ११ बजे दुवै पक्ष बसेर छलफल गर्ने सहमति भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment