Comments Add Comment

‘पार्टीलाई एक बनाउन ओलीले गुटगत मानसिकता त्याग्नुपर्छ’

५ चैत, काठमाडौँ । नेकपा (एमाले) माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

एमाले नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छोडेको आरोप लगाए । उनले भने, ‘ओली गुट परस्त मान्छे हुन् । उनमा एकलौटी निर्णय गर्ने स्वभाव छ । त्‍यसैले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरु पनि गल्ती सच्याउन तयार हुन्छौं।’

यस्तै एमाले नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताए ।

भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनकाे भनाइ छ । वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफूहरुको जोड रहेको पनि उनले बताए ।

अर्का नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताए । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ ।

नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरु सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिए ।

नेतृ सविना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन् । नेकपा (एमाले)लाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment