
५ चैत, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उत्तर कोरियालाई आणविक हतियार त्याग्न लगाउन चीनसँग आग्रह गरेका छन् । उनले अमेरिकाले उत्तर कोरियासँग दबाब पनि दिने र कूटनीतिक प्रयास पनि जारी राख्ने नीति लिएको बताएका छन् ।
बिहीबार दक्षिण कोरियाको सोलमा बोल्दै ब्लिन्केनले अमेरिकाको उत्तर कोरिया नीति सार्वजनिक गरेका हुन् । यसअघि उत्तर कोरियाले आफ्नो ‘शत्रुतापूर्ण’ नीति कायम राख्दासम्म अमेरिकासँग वार्ता हुन नसक्ने बताएको थियो ।
दक्षिण कोरियामा भएको सुरक्षा वार्तामा अमेरिकी रक्षामन्त्री लोयड औस्टिन, दक्षिण कोरियाका विदेशमन्त्री चुङ एउइ योङ र रक्षामन्त्री सुह वुक सहभागी थिए । पछिल्लो पाँच वर्षमा पहिलोपटक दुई मुलुकबीच ‘टु प्लस टु’ वार्ता भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडन अहिले आफ्ना साझेदार मुलुकसँगको सम्बन्ध सुधारको क्रममा छन् ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रक्षामन्त्री औस्टिन जापान भ्रमण सकेर दक्षिण कोरिया पुगेका हुन् । ब्लिन्केनले उत्तर कोरियाको नीतिबारे अहिले राष्ट्रपति बाइडनले अध्ययन गरिरहेको र अध्ययनपछि मात्र उत्तर कोरिया नीति सार्वजनिक गरिने बताएका थिए । यद्यपि उत्तर कोरियालाई दबाब दिने र भविष्यमा आवश्यक परेमा कूटनीतिक प्रयास पनि जारी राख्ने उनले बताएका हुन् ।
ब्लिन्केनले अमेरिकाका सबै साझेदार मुलुकलाई एक भएर चीनको बढ्दो चुनौती रोक्न आग्रह गरे ।
प्रतिक्रिया 4