Comments Add Comment

होटलमा थप २ अर्ब लगानी गर्दै एमएस ग्रुप

८ चैत, काठमाडौं । आतिथ्य उद्योगमा आक्रामकरुपमा लागेको व्यापारिक घराना एमएस ग्रुपले आफ्नो तेस्रो परियोजना सुरु गर्ने भएको छ । काठमाडौंको ठमेल र नक्सालमा दुई होटेल निर्माण गरी संचालनमा ल्याएको ग्रुपले कमलादीमा तेस्रो परियोजना सुरु गर्न लागेको ग्रुपका उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए । ‘हामी यही कोरोना भाइरसले उत्पन्न गरेको संकटकै बीचमा नयाँ प्रोजेक्ट थाल्दैछौं,’ उनले अनलाइनखबरसँग भने, ‘सेवा बेच्न नसकेको यो समयलाई हामी पूर्वाधार विकासमा उपयोग गर्नेछौं ।’

कोरोना भाइरसको खोप संसारभर लगाएको कम्तिमा दुई वर्ष पूरा नभएसम्म पर्यटक आगमन सामान्य बन्ने छैन । त्यसपछि भने एकै पटक पर्यटन क्षेत्रमा बहार आउन सक्ने अनुमान गरिएको छ । सोहीकारण पाइपलाइनमा रहेका योजनालाई अहिले कार्यान्वयन गर्ने सोचमा एमएस ग्रुप रहेको छ । यो समूहको होटेल फेयरफिल्ड मेरियट ठमेल र मेरियट होटेल नक्साल गरी दुई नयाँ होटल गत वर्षमात्र संचालनमा आएका हुन् । कोरोनापछि पाहुना नहुँदा अहिले ठमेलको होटेलको सेवा रोकिएको छ । नक्सालको पाँचतारे मेरियट होटेल भने लकडाउनको समयमा पनि निर्वाध संचालनमा आएको थियो ।

महामारीमा सबैजसो उद्योगले लगानी खुम्च्याइरहेको समयमा एमएस ग्रुप भने आक्रामकरुपमा लगानी विस्तार गरिरहेको छ । अहिले सेवा र बजारीकरणको काम रोकिएको समयलाई आफूहरुले पूर्वाधार निर्माणमा केन्द्रित गर्न लागेको उपाध्यक्ष अग्रवालले बताए । ‘नेपालको भविष्य पर्यटन नै हो,’ उनले भने, ‘हामीलाई पूर्ण विश्वास छ, अहिले पूर्वाधार बनाउन सक्यौं भने भोलि हामीले पर्याप्त बिजनेस पाउँछौं ।’

कमलादीमा बन्नेछ अर्को अत्याधुनिक होटेल

उपाध्यक्ष अग्रवालका अनुसार मेरियटको तेस्रो होटेल कमलादीमा बन्ने छ । होटेल निर्माणको थालनी गत मार्चमै गर्ने योजना कम्पनीको थियो । तर, कोरोना भाइरसको महामारीका कारण सो बेला तयारीको कामसमेत प्रभावित बनेको हो । निर्माण सुरु भएको ३० महिनाभित्र यो होटेल संचालनमा ल्याइसक्ने योजना ग्रुपको छ । यसअघि निर्माण थालेको ३२ महिनामा ठमेल र ४२ महिनामा नक्सालको मेरियट संचालनमा आएको थियो ।

नयाँ परियोजनामा बन्ने होटेलमा कुल १२२ कोठा रहने भएको छ । यसमा निर्माणको चरणमा तलमाथि हुन सक्ने उपाध्यक्ष अग्रवालले बताए । नेपाल सरकारले गर्ने वर्गीकरण अनुसार यो होटेलको स्टारसमेत ‘चार’ हुने छ । तर, मेरियटको ब्राण्डमा बन्ने सबै होटेलको सेवा सबैको एउटैस्तरकै हुने उनले बताए । स्वीमिङ पुलसहित पाँच तारेमा हुनुपर्ने सबै सुविधा होटेलमा रहने उनले बताए ।

करिब २ अर्ब लगानी

कम्पनीले यो परियोजनामा करिब दुई अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरेको छ । उपाध्यक्ष अग्रवालका अनुसार यो अनुमानित बजेट हो । यसमा केही कटौती गरी १ सय ८० देखि १ सय ९० करोडको बीचमा आयोजना सक्ने लक्ष्य राखिएको उनले बताए । काठमाडौं उपत्यकाको मुटुमा रहने होटेलले मेरियटको स्तर अनुसारकै पर्यटकसमेत तान्न भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

किन काठमाडौं मै अर्को होटेल ? 

संसारभर आतिथ्य सेवामा ६० प्रतिशत पूर्वाधार सहर भित्रै रहने गरेको बताइन्छ । होटेल चल्न ‘प्राइम लोकेसन’को ठूलो भूमिका हुन्छ । एमएसग्रुपलाई पनि यो तथ्यांकले आकषिर्त गरेको छ । सोहीकारण यो ग्रुपले तीन वटै होटेल सहरको मूख्य भागमा चलाउँदैछ । ‘काठमाडौं उपत्यका आफैमा तीन वटा जिल्लाको संयुक्त सहर हो,’ उनले भने, हामीले पनि प्राइम लोकेसनलाई छानेका हौं ।’ काठमाडौंमा पशुपतिनाथ, ठमेल, दरवारमार्गलगायत गन्तब्य अहिले पनि पर्यटकबीच उत्तिकै लोकप्रिय रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment