+
+
Shares

अँध्यारो अनुहार लगाउनेहरु शान्ति प्रक्रिया ध्वस्त पार्न लागे : खाँड

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १८:१२

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले केही मानिस शान्ति प्रक्रिया ध्वस्त पार्न लागेको आरोप लगाएका छन् । आफ्नो पार्टीका नेता गिरिजाप्रसाद कोइरालाको पालामा अगाडि बढेको शान्ति प्रक्रियाप्रति कांग्रेस प्रतिवद्ध रहेको उनले बताए ।

‘यही हलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षका कामरेड पुष्पकमल दाहाल प्रचण्डको बीचमा बृहत शान्ति सम्झौता भएको हो’ शुक्रबार संसदको बैठकमा खाँडले भने, ‘त्यो शान्ति सम्झौतामा हामी पूर्ण प्रतिबद्ध छौं ।’

उनले अघि भने, ‘जतिखेर यो हलमा अँध्यारो अनुहार लगाएर बस्नुभएको थियो, उहाँहरु विभिन्न बहानामा शान्ति प्रक्रियालाई ध्वस्त पार्न लाग्नु भएको छ । समय आयो भने त्यो नाम पनि भनौंला । तपाईंहरुले पुरानो फोटो हेरे थाहा भइहाल्छ नि ।’

खाँडले व्यक्ति त तोकेनन्, तर उनको संकेत प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारतर्फ देखिन्छ । १२ बुँदेमा नेकपा एमालेका नेता माधवकुमार नेपालले हस्ताक्षर गरेका थिए, केपी शर्मा ओली प्रमुख भूमिकामा थिएनन् ।

अहिले पार्टी र सरकारको नेतृत्वमा आएपछि पनि उनले शान्ति प्रक्रिया टुंग्याउन रुची नदेखाएको कांग्रेसको आरोप छ । एमाले निकट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पनि बेलाबेलामा दिएका अभिव्यक्तिहरुले पनि आशंका बढाएको नेताहरु बताउँछन् ।

‘शान्ति प्रक्रियाबाट अगाडि बढ्दा संविधानसभा चुनाव भयो, मुलक गणतन्त्रमा गयो’ खाँड निकट एक सांसद भन्छन्, ‘तर प्रधानमन्त्री ओलीजी सुरुदेखि नै यसप्रति गम्भीर हुनुहुन्छ भन्ने हाम्रो बुझाइ हो । आज उहाँ (खाँड) ले पनि त्यतै संकेत गर्नु भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?