+

गोपीचन्द्र र सन्तोषी च्याम्पियन

२०७७ चैत  ७ गते १४:०४ २०७७ चैत ७ गते १४:०४
गोपीचन्द्र र सन्तोषी च्याम्पियन

७ चैत, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेताद्वय गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह १०के रोड रेसको उपाधि जितेका छन् ।

दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा गोपी पुरुषतर्फ र सन्तोषी महिलातर्फ च्याम्पियन बनेका हुन् । पहिलो संस्करणको समेत उपाधि जितेका यी दुई खेलाडी लगातार दोस्रो वर्ष पनि उपाधि जित्न सफल भए ।

टोकियो ओलम्पिकमा लागि तयारी गरिरहेका गोपीले निर्धारित दूरी ३१ मिनेट ४४.४५ सेकेण्डमा पूरा गरे । गत वर्ष भएको १३औं सागमा ५ हजार मिटर स्वर्ण जितेका एपीएफ क्लबका गोपीले अघिल्लो संस्करणमा आफैंले बनाएको ३२ मिनेट ०१.२ सेकेण्डको टाइमिङमा सुधार गरेका हुन् ।

यस्तै १३औं सागमा १० हजारमा स्वर्ण जितेकी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३.४४ सेकेण्डमा पूरा गरिन् । सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेण्डमा पूरा गरेकी थिइन् ।

च्याम्पियन गोपी र सन्तोषीले दुवैले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै टाइमिङमा सुधार गरेका दुवैले थप १० हजार प्राप्त गरे ।

यस वर्ष सन्तोषीको यो तेस्रो र गोपीको दोस्रो उपाधि हो । सन्तोषीले धरानमा पनि १० के कै उपाधि जितेकी थिइन् भने अघिल्लो साता राजधानीमा गोल्डेन एथ्लेटिक्स मिटमा ३ हजार मिटरमा स्वर्ण जितेकी थिइन् । यस्तै गोपीले मंसिरमा नेपालगन्जमा भएको नेपालगन्ज म्याराथन जित्दै टोकियो ओलम्पिकमा स्थान पक्का गरेका थिए ।
पुरुषतर्फ अनिश थापा मगर ३१ मिनेट ५०.४९ सेकेण्डको टाइमिङसहित दोस्रो भए । ३१ मिनेट ५६.३८ सेकेण्डको समय निकालदै तीर्थ पुन तेस्रो भए । यस्तै गजेन्द्र थापा चौथो र नरेन्द्र रावत पाँचौं भए ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पाछि ३९ मिनेट ३० सेकेण्डको समय निकाल्दै दोस्रो र एपीएफकी फूलमति राना ४० मिनेट ५६ सेकेण्डको समयसहित तेस्रो भइन् । यस्तै पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमाल पाँचौं भइन् ।

महिला र पुरुष दुवैतर्फ दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ नगद प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोट्र्स कमिटीले आयोजना गरेको दौड शेर्पा मल दरबारमार्गबाट शुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, नारायणहिटी संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, प्रहरी हेडक्वार्टर, गौरीधारा, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मलमा आएर टुंगिएको थियो ।

टेन के रोड रेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय