Comments Add Comment

मोदीको भ्रमणको पूर्वसन्ध्यामा बंगलादेशमा भारतविरोधी प्रदर्शन

८ चैत, काठमाडौं । बंगलादेशको ५० औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मार्च २६ तारेखमा बंगलादेश भ्रमणमा जाँदैछन् ।

तर भ्रमणको केही दिनअघि बंगलादेशमा मोदीको विरुद्धमा र्‍याली निस्किएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार शुक्रबार करिब पाँच सय मुस्लिमहरुले भारतीय प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजी गर्दै र्‍याली निकालेका थिए । निकै कडा सुरक्षाबीच राजधानी सहर ढाकाको बैतुल मोकाराम मस्जिदबाट उनीहरुले र्‍याली निकालेका थिए । उनीहरुले हातमा जुत्ता लिएर मोदीको बंगलादेश भ्रमणको विरोध गरेका थिए ।

त्यस्तै शुक्रबार वामपन्थी झुकाव राख्ने करिब दुई सय विद्यार्थीले पनि युनिभर्सिटी क्याम्पसको सडकमा मोदीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले मोदीलाई ‘गुजरातको कसाई’ भन्दै नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको भन्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पनि आलोचना गरेका थिए ।

भारतविरोधी भावना बढ्नुको कारण

सन् १९७१ को मार्च २६ मा बंगलादेश स्वतन्त्र भएको थियो । त्यसपछि नौ महिनासम्म चलेको रक्तपातपूर्ण युद्धपछि बंगलादेश नयाँ मुलुक बनेको थियो । त्यतिबेला पाकिस्तानबाट छुट्टिन भारतले पनि बंगलादेशलाई सहयोग गरेको थियो ।

बंगलादेशमा भारतविरोधी भावना बढ्नुको एउटा कारण भारतीय प्रधानमन्त्री मोदी आफैं हुन् । सन् २००२ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा गुजरातमा हिन्दु–मुस्लिम दंगा फैलिएको थियो । उक्त दंगामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

उक्त हिंसा फैलाउन सरकारले अनुमति दिने मात्र नभई उक्साएकोसम्म आरोप लागेको थियो । भारतको सर्वोच्च अदालतले पछि मोदीमाथि कारबाही गर्न प्रमाण नभएको बताएको थियो ।

भारतमा दुई वर्षअघि नागरिक कानुनमा गरिएको संशोधन पनि बंगलादेशमा भारतविरोधी भावना विकास हुनुको अर्को कारण हो । यो संशोधनमा छिमेकी मुलुकबाट अवैध रुपमा आएर लामो समय भारतमा बसेका गैर–मुस्लिम समुदायलाई नागरिकता दिने व्यवस्था गरिएको छ । यो कानुनले मुस्लिम नागरिकलाई विभेद गरेको मुस्लिम बाहुल्य मुलुक बंगलादेशले बताएको छ । यद्यपि भारतले भने यो कानुन मुलुकको राष्ट्रिय सुरक्षाको लागि आवश्यक रहेको बताउँदै आएको छ ।

बंगलादेशले भारतको नागरिकता कानुन संशोधनमा आपत्ति जनाएसँगै भारतका गृहमन्त्री अमित शाहले उक्त कानुनको बचाउ गर्दै बंगलादेशमा पनि हिन्दू समुदाय उत्पीडनमा परेको बताएका थिए । यो अभिव्यक्तिपछि बंगलादेशका विदेशमन्त्री अब्दुल मोमिनले भारतीय गृहमन्त्रीको कडा आलोचना गरेका थिए ।

उनले उक्त आरोप पूर्ण रुपमा झुट रहेको उल्लेख गर्दै बंगलादेशजस्तो साम्प्रदायिक सहिष्णुता भएको मुलुक विश्वमा निकै कम मात्र रहेको बताएका थिए । उनले भारतलाई दुई मुलुकको सम्बन्ध बिग्रिने किसिमको कुनै पनि कदम नचाल्न पनि चेतावनी दिएका थिए ।

बंगलादेशी विदेशमन्त्री मोमिनले धर्मको आधारमा नागरिकता दिने नियमले भारतको धर्मनिरपेक्षता कमजोर हुने बताएका थिए । त्यतिबेला बंगलादेशका विदेशमन्त्री र गृहमन्त्रीले तय भइसकेको भारत भ्रमण पनि स्थगित गरेका थिए । बंगलादेशको मुख्य विपक्षी पार्टीका महासचिवले भारतको नागरिक दर्ताबाट बंगलादेशको स्वतन्त्रता र सम्प्रभुतामा खतरा रहेको बताएका थिए ।

बंगलादेशमा भारतविरोधी भावना बढ्नुको कारण सीमाक्षेत्रमा हुने घटना पनि हुन् । बंगलादेशका नागरिकले सीमाक्षेत्रमा भारतीय सैनिकबाट बंगलादेशी नागरिक मारिँदै आएको भन्दै भारतको विरोध गर्दै आएका छन् । तर, भारतले भने यस किसिमका घटना तस्करी नियन्त्रणका क्रममा भएको भन्दै बचाउ गर्दै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment