Comments Add Comment

क्लिनफिडको ओरालो यात्रा

करिब १५ वर्ष अगाडि भारतीय कलर्स टेलिभिजनका प्रतिनिधिले नेपाल आएर आफ्नो च्यानलमा स्थानीय विज्ञापन बजाउन दिने भनेपछि सुरु भएको क्लिनफिडको चर्चा अहिले कार्यान्वयनको तहसम्म आइपुगेको  छ । यसलाई राष्ट्रवाद र विज्ञापन विस्तारको सम्भावनासँग जोडेर पनि विश्लेषण गरिंदैछ, नेपाली मिडिया बचाउने दीर्घकालीन रणनीति पनि भनिंदैछ ।

१२–१५ वर्ष अगाडिदेखिको क्लिनफिडको माग सरकारले २०७३ सालमा आमसञ्चार नीतिमार्फत सम्बोधन गर्न खोजेको थियो । तर, कमजोर धरातलमा उभिएका कारण भारतीय ब्रोडकाष्ट र नेपाली केबुल व्यवसायीहरूको दबाबमा सरकारले लामो समयसम्म नीति कार्यान्वयन गर्नै सकेन । बलियो कानुनको आवश्यकता पर्ने महसुस गरेर विज्ञापन नियमन गर्ने ऐनमा नै क्लिनफिडसम्बन्धी प्रावधान राख्यो । कार्यान्वयनको मिति तोकेका कारण क्लिनफिड कार्यान्वयन हुनसक्यो ।

नेपालमा क्लिनफिड लागू भएको करीब १०० दिन हुन लाग्यो । बिहानीले दिनको संकेत गर्छ भनेझैं क्लिनफिडको यो ‘हनिमुन पिरियड’ लाई हेरेर भविष्य कसरी अगाडि जाला भनेर अनुमान गर्न सकिन्छ ।

क्लिनफिड पश्चात् कति विज्ञापन बजार विस्तार भयो ? कुन कलाकारले विदेशी उत्पादनको विज्ञापनबाट कति रकम पारिश्रमिक पाए ? नेपाली विज्ञापन व्यवसायीले कुन बहुराष्ट्रिय कम्पनीको विज्ञापन ल्याउन पहल गरे ? यी महत्वपूर्ण सवाल हुन् ।

यो १०० दिनलाई हेर्दा नेपालमा क्लिनफिडको यात्रा ओरालो लागेको देखिन्छ । किन त ?

राजनीतिक अस्थिरता

देशमा विकसित पछिल्ला घटनाक्रम हेर्दा सरकारको प्राथमिकता क्लिनफिड जस्ता विषय कार्यान्वयनमा भन्दा अन्यत्र छ । संसद विघटन र नेकपाको नामको मुद्दामा आएका सर्वोच्च अदालतको फैसलापछि देशमा गठबन्धन सरकार बन्ने र विकास, सुशासन अनि स्थिरताको अभाव हुने सम्भावना छ ।

सरकार बन्दा पनि पार्टीभित्रका गुटको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसले गर्दा मन्त्री र प्रधानमन्त्रीले राम्रो काम गर्न नसक्ने देखिन्छ । दलहरूको प्राथमिकता सरकार बनाउने र चलाउनेतिर मात्रै सीमित हुँदा क्लिनफिड सरकारको प्राथमिकतामा नपर्ने देखिन्छ ।

कतिपय केवल व्यवसायीहरू यति पहुँचवाला छन् कि उनीहरू सरकारवादी दल र तिनका मन्त्रीहरूलाई समेत प्रभावित पार्न सक्छन् । भारतीय प्रसारण संस्थाका सञ्चालकहरू नेपालमा कमजोर सरकारको प्रतीक्षामा थिए, क्लिनफिडलाई कमजोर बनाउन लागिरहेको अवस्थामा अझ भारतलाई ‘कम्फर्टेबल’ सरकार बनेमा उनीहरूलाई थप सहज हुने देखिन्छ । त्यसैले क्लिनफिड ल्याउँदाको परिकल्पना अब पूरा नहुने देखिन्छ ।

व्यवसायीको असहयोग

नेपालका विदेशी च्यानलका सिंग्नल वितरक, आधिकारिक वितरक र केबुल व्यवसायीहरूले क्लिनफिडलाई आफ्नो रोजीरोटी माथिको प्रहारको रूपमा बुझेका छन् । बलियो कानून, दुई तिहाइको सरकार, विदेशी च्यानलको प्रोपोगाण्डामूलक समाचार र नक्शा प्रकरणपछि झांगिएको राष्ट्रवादका बीचमा पनि व्यवसायीहरूले सरकारलाई असहयोग गर्न भने छाडेनन् ।

टेलिभिजन शुल्कको वृद्धि गर्न माग पनि भयो । क्लिनफिडको स्वरुपमा प्रसारण भएका भनिए पनि आधिकारिक सिंग्नल वितरकको अनुमतिपत्र नै नलिएको स्टार टेलिभिजन र यसका सहायक समूहका च्यानलहरूबाट कार्यक्रमको बीच–बीचमा कहिले विज्ञापन त कहिले खाली (कालो–नीलो) स्क्रिन देखाउने गरेका छन् । यसले दर्शकलाई समस्यामा पारिरहेको छ भने क्लिनफिड सम्भव छैन भन्ने सन्देश दिन खोजिएको छ ।

साविकमा नेपालमा प्रसारणको अनुमति लिएका तर विज्ञापनवापतको शुल्क र ग्राहकबाट शुल्क लिएर प्रसारण भइरहेका विदेशी च्यानलहरू क्लिनफिडमा आउन मानिरहेका छैनन् । क्लिनफिड अघिका झण्डै २०० मध्ये अहिले करिब २० जति मात्रै विदेशी च्यानल क्लिनफिडको स्वरुपमा देख्न सकिन्छ ।

नेपालमा यसअघि निःशुल्क सिग्नल दिने च्यानलले समेत निःशुल्क प्रसारण गर्न नसकिने भन्दै शुल्क माग गर्न थालेका छन् । यसैलाई आधार बनाएर शुल्कवृद्धिको माग अघि सारिंदैछ । जुन तर्कसंगत र न्यायसंगत छैन । यसमा नेपाली वितरक र भारतीय प्रसारकहरूको मिलिभगत हुन सक्ने देखिन्छ ।

क्लिनफिडको अपुरो व्यवस्था

विज्ञापन नियमन गर्ने ऐनले आमसञ्चारमाध्यममा मात्रै क्लिनफिड हुनुपर्ने भनेर परिकल्पना गरेको देखिन्छ । ऐनले नेपालमा आमसञ्चारमाध्यमबाट मात्रै विज्ञापन प्रसारण र डविङ हुन्छ भनेर परिकल्पना गरेको छ । प्रविधिको विकास र प्रयोगको अवस्थालाई नदरअन्दाज गरेर बनेको नियमबाट नै समस्या सुरु भएको देखिन्छ ।

हालकै अवस्था हेर्ने हो भने नेपालमा करीब ६६ प्रतिशत जनसंख्यामा इन्टरनेट सुविधा पुगेको र पन्ध्रौं योजनामा यसलाई बढाएर ८० प्रतिशत पुर्‍याउने लक्ष्य छ । हात–हातमा स्मार्ट फोन र सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ हुने दिशातिर देश अघि बढ्दैछ । तर, ऐनका मस्यौदा तयारकर्ताहरूले यस पक्षमा ध्यान दिएको देखिएन । अहिले इन्टरनेटसहित विभिन्न माध्यमबाट क्लिनफिड र सेन्सरसमेत नभएका सामग्रीहरू मानिसका हात–हातमा पुगेका छन् ।

इन्टरनेटको युगमा कमै मानिसहरूले घरमा बसेर टेलिभिजन हेर्लान् । धेरैले ओटीटी एप र इन्टरनेट साइटहरूबाट पहुँच बनाएको अवस्था देखिन्छ । यी माध्यमहरूमा क्लिनफिड नहुँदा यो नीति र नियम एकपक्षीय हुने देखियो । यो विषयमा व्यवसायीहरू सर्वोच्चमा रिट लिएर पुगेका छन् ।

क्लिनफिड लागू भएपछि ३० प्रतिशत दर्शकले आफ्नो रुचिको च्यानल हेर्न नपाएको भन्दै टेलिभिजन हेर्नै छाडेका समाचार पनि आएका छन् । रिचार्जमा आएको कमीले व्यवसायी मारमा परेको देखिन्छ ।

यसरी टेलिभिजनका ग्राहक घटेमा राजस्व समेत घट्दै जान्छ । इन्टरनेटमार्फत हुने क्लिनफिडरहित प्रसारणबाट रकम बाहिरिने खतरा समेत छ । ओटीटी एप, युट्युब, फेसबुक र आईपी टिभीको एन्ड्रोइड बक्सबाट कार्यक्रमहरू डाउनलोड गरेर हेर्न पाउने अवस्थामा कसले सेटअप बक्स रिचार्ज गराउला र ? आमसञ्चारलाई मात्रै बन्देज लगाएर दूरसञ्चारलाई खुला छाड्दा यस्तो भएको हो ।

त्यसमाथि खुला सिमानाको कारण भारतीय डीटीएचको प्रयोग पनि चुनौतीका रूपमा छ । सरकारको कमजोर अनुगमनका कारण यसले नेपाली व्यवसायी प्रभावित हुने सम्भावना पनि छ । यसले सरकारी राजस्व पनि गुम्ने अवस्था छ ।

नेपाली मिडियाको यथास्थिति

क्लिनफिडपछि नेपाली मिडियाहरूले विदेशी च्यानलको विकल्प दिन सक्नुपर्थ्यो । धेरै मिडियाको वेबसाइट र ओटीटी एप छैन । भएकाहरूको पनि अपडेट हुँदैन, लाइभ स्ट्रिमिङ कार्यक्रमहरू जाँदैनन् । यसले के देखाउँछ भने नेपाली मिडिया नेपाली भाषा र राष्ट्रवाद भएर मात्रै चल्दैन ।

युट्युबमा पाइने गीत बजाउने अनि खालि राजनीतिक ‘टक शो’ मात्रै सञ्चालन गर्ने नेपाली टेलिभिजन हेरेर को बस्ला ? दर्शकको रुचि र चाहना बुझ्नुपर्छ । क्लिनफिडले बन्द भएका विदेशी च्यानलहरूको अभाव पूरा गर्न सक्नुपर्छ । त्यसो भएमा नेपाली च्यानलहरूमा दर्शक र विज्ञापन बढ्छ ।

२१० भन्दा बढी च्यानलहरूले प्रसारणको अनुमतिपत्र लिए पनि नेपालमा कुनै पनि ‘पे च्यानल’ सञ्चालनमा छैनन् । नेपाली च्यानल सित्तैमा हेर्न पाइन्छ । सित्तैमा आउने च्यानलका कार्यक्रमहरू गुणस्तरीय हुँदैनन् । नेपाली च्यानलका जस्ता कार्यक्रमको विकल्प युट्युबमा छन् ।

आईपी टिभी र अनलाइन टेलिभिजनबाट केवल व्यवसायीहरू जोखिममा छन् । अनलाइन टेलिभिजनलाई पनि युट्युब र सामाजिक सञ्जालले विस्थापन गर्ने जोखिम छ । अहिले विज्ञापन रकम असुल्ने धन्दा मात्रै मौलाउँदैछ । यसले अन्ततः सम्पूर्ण टेलिभिजन प्रविधि नै ‘फेजआउट’ गर्ने खतरासमेत छ ।

अर्थतन्त्र संकुचन र विज्ञापनको बजार

विश्व बैंकले महामारीको प्रभावले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।  नेपालको व्यापार घाटा पनि अघिल्लो आवमा १४.६९ प्रतिशतले घटेको छ । महामारीमा करिब १२ लाख मानिस गरीबीको रेखामुनि धकेलिएका छन् । उद्योगदेखि कृषि र पर्यटन कोभिडको असरले थला परेका छन् । यस्ता तथ्यांकलाई नजरअन्दाज गर्दै क्लिनफिडपछि नेपालको विज्ञापन बजार दुई गुणाले वृद्धि हुने विज्ञापन व्यवसायीले बताउँदै आएका छन् ।

नेपालमा धेरै विज्ञापन गर्ने बैंकिङ क्षेत्र र बहुराष्ट्रिय कम्पनीहरू समस्यामा छन् । बैंकको लगानीको व्याज उठ्न सकेको छैन । पर्यटन क्षेत्र, होटल, निर्माण, हवाई यातायात क्षेत्र समस्याग्रस्त रहेकाले कुन आधारमा विज्ञापन रकम छुट्याउने होला ? उद्योग नै सञ्चालन नभएको अवस्थामा केका लागि विज्ञापन गर्ने ? यही अवस्था भारतीय बजारमा पनि छ । यसले गर्दा पनि नेपालमा विज्ञापन नबढेर क्लिनफिडले अपेक्षा अनुरूप नतिजा दिन सकेन ।

विज्ञापन व्यवसायी पनि विज्ञापनको बजार बढाउने ठोस योजना बनाइरहेका छैनन् । आफूले उठाएको मुद्दा आफ्नो कार्यकालमा सफल भयो भनेर जस लिन होडबाजी गरे पनि त्यसले प्रतिफल दिन सक्ने अवस्था बनेको छैन ।

क्लिनफिडले दर्शकले पैसा तिरेर पनि टेलिभिजन हेर्न नपाउने र नेपालमा विज्ञापन बजार बढेर रोजगारी वृद्धि भएन भने यसको जिम्मा कसले लिने ? सरकारले गुमाएको राजस्वको असुल कसरी कहाँबाट गर्ने ?

क्लिनफिड पश्चात् कति विज्ञापन बजार विस्तार भयो ? कुन कलाकारले विदेशी उत्पादनको विज्ञापनबाट कति रकम पारिश्रमिक पाए ? नेपाली विज्ञापन व्यवसायीले कुन बहुराष्ट्रिय कम्पनीको विज्ञापन ल्याउन पहल गरे ? यी महत्वपूर्ण सवाल हुन् ।

विज्ञापन व्यवसायीहरू विदेशी च्यानलमा विदेशी विज्ञापन बढेको नदेखे पनि राष्ट्रवादको लहर आएको देखेर नै मस्त छन् । यसले पनि नेपालमा क्लिनफिडलाई असफल पार्नतिर लागेको देखिन्छ ।

कमजोर अनुगमन

नेपालमा भारतीय प्रसारकहरूले छुट्टै स्याटेलाइट प्रयोग नगरी क्लिनफिडका लागि विज्ञापन कटअफ गर्ने गरेका छन् । यसले विज्ञापन कटाउँदाको समयमा के बजाउने/नबजाउने भन्ने अधिकार विदेशी प्रसारकको हातमा छ । यहाँ त्यसलाई व्यवस्थापन गर्ने यन्त्र मात्रै छ ।

ग्राहक घटिरहँदा क्लिनफिड गर्ने सञ्चार उपकरण र जनशक्तिका कारण व्यवसाय सञ्चालन खर्च पनि बढिरहेको भन्ने दाबी व्यवसायीको छ । यस्तो अवस्थामा सरकारले नै ‘टेलिभिजन हेरे हेर, नहेरे पनि केही फरक पर्दैन’ जसरी काम गरेको देखिन्छ ।

नेपालमा क्लिनफिड कार्यान्वयन गर्ने तालुक र जिम्मेवार प्राप्त निकाय को हो भनेर स्पष्ट छैन । एकातिर सूचना तथा प्रसारण विभागले मल्टिभिवर स्क्रिन राखेर रियल टाइम मनिटरिङ गर्ने व्यवस्था गरेको छ ।  विभाग २४ घण्टा कन्ट्रोल रुमबाट मनिटरिङ गर्न सकिने भन्छ ।

तर, नेपालमा डविङ गरेका विदेशी विज्ञापनहरू धमाधम बजाउँदा, कतिपय च्यानलबाट विज्ञापन र प्रोमोहरू बजाउँदा समेत कारबाही भएको देखिंदैन ।

शुल्क बढाउने चेतावनी आइरहँदा र दर्शक भड्काउने उद्देश्यले स्क्रिन खाली दिँदा अनुगमन र सहजीकरण कसले गर्ने स्पष्ट छैन । विज्ञापन बोर्डमा विज्ञापन र टेलिभिजनबारेमा अध्ययन र अनुभव कम भएका कार्यकर्ता नियुक्ति भएको समाचार आएका छन् । बोर्डमा प्राविधिकभन्दा प्रशासनिक कर्मचारीहरूको बाहुल्य छ ।

प्रशासनिक कर्मचारीले न विदेशी च्यानलको अनुगमन गर्न सक्छन् न क्लिनफिडको अन्य प्राविधिक काम गर्न नै । हालसम्म पनि बोर्डले पूर्णता नपाएको कारण क्लिनफिड लागू गर्न सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय समेत यसबारे जिम्मेवार बनेको देखिन्न ।

– लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment