Comments Add Comment

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ देखि हुने

८ चैत, ललितपुर । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा हुने उक्त प्रतियोगिता चैत २१ देखि २८ गतेसम्म हुने आयोजकले आइतबार जानकारी गराएको छ ।

प्रतियोगिताका लागि क्यान र ललितपुर महानगरपालिकाबीच यसअघि नै सम्झौता भइसकेको छ । सम्झौताअनुसार ललितपुर महानगरले प्रतियोगिता आयोजना गर्न क्यानलाई २० लाख रुपैयाँ दिनेछ । यसअघि क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुरुषको ५० ओभरको प्रतियोगिता गरेको थियो ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले यसपटक महिला क्रिकेटमा सहयोग गर्न लागेको बताए । महर्जनले ललितपुर महानगरले क्रिकेटमा पनि केही गर्न खोजेको छ भन्ने सन्देश दिन खोजेको बताए । यसअघि फुटबलमा सहयोग गर्दै आएको र क्रिकेटलाई गरिने सहयोग आगामी वर्ष पनि निरन्तर रहने उनले बताए ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले महिला क्रिकेटको लागि ललितपुरसँग यो ऐतिहासिक सहकार्य भएको बताए ।

टी–२० फर्म्याटमा हुने प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुसमा प्रधानमन्त्री कप महिला प्रतियोगितामा सेमिफाइनल खेलेका चार टिम र ललितपुरको एक टिम गरी पाँच टिम हुनेछन् । पाँचौ टिम मेयर्स- ११ को नामबाट खेल्नेछ ।

दाङमा भएको प्रधानमन्त्री कपमा प्रदेश १, एपीएफ, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनल पुगेका थिए । जसमा प्रदेश १ ले एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।
टीयू क्रिकेट मैदानमा हुने प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ । लिग चरणपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

विजेताले ३ लाख पाउने

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै बेस्ट प्लेयरले २५ हजार पाउनेछ ।  बेस्ट ब्याट्सवुमन र बेस्ट बलरले समान १५ हजार पाउनेछन् भने प्लेअर अफ दी म्याचले ३ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै हरेक खेलाडीले प्रत्येक म्याचको म्याच फीबापत एक हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि ५० लाखभन्दा बढी खर्च हुने र प्रायोजनका लागि कुराकानी भइरहेको क्यान सचिव प्याकुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment